बागलुङ, ४ कात्तिक
विद्यामन्दिर पुस्तकालय बागलुङको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार मनाइएको छ । प्रतियोगितात्मक काव्य गोष्ठीसहित देवकोटा जयन्ती मनाइएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
कार्यक्रममा विभिन्न श्रष्टाले आफ्ना रचना सुनाए । कसैले सिर्जनाका माध्यमबाट महाकवि देवकोटालाई सम्झिए त कोहीले समसामयिक मुद्दा र परिवेशलाई समेटे । स्रष्टाले छन्द र मुक्त शैलीका कविता पाठ गरे । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले माहोल जमेको थियो ।
प्रतियोगितामा स्रष्टा रामचन्द्र शर्माद्वारा प्रस्तुत गजल प्रथम भयो । सञ्जयश्याम राजभण्डारीको कविताले द्वितिय स्थान र कोपिला कँडेलको कविताले तेस्रो स्थान हासिल ग¥यो । काव्य गोष्ठीमा स्रष्टा युक्तप्रसाद सुवेदी, गोविन्द सुवेदी, गुणराज पौडेल ‘गुराँस’, धनराज सापकोटा ‘जिज्ञासू’लगायतले सिर्जना प्रस्तुत गरेका थिए ।
देवकोटा जयन्तीका प्रमुख अतिथि कवि एवं विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकवि देवकोटालाई नेपाली साहित्यका बहुआयमिक प्रतिभाका रुपमा स्मरण गरे । “कम उमेर बाँचेर पनि देवकोटाले नेपाली साहित्यलाई अमूल्य योगदान दिनुभएको छ”, उहाँले भन्नुभयो, “मूल रुपमा साहित्य सिर्जनामा लागेपनि राजनीति र पत्रकारितामा पनि उहाँको योगदान रहेको छ ।”
पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरु देखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ । विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति नै बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताउनुभयो ।
पुस्तकालयले आदकवि भानुभक्त आचार्य, युवाकवि मातीराम भट्ट, युगकवि सिद्धिचरण श्रेष्ठलगायतको पनि जन्मजयन्ती मनाउँदै आएको छ ।