बागलुङ, २ कात्तिक
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रमको भवन निर्माणमा बजेट अभाव भएको छ । विसं २०७७ देखि निर्माण सुरु गरिएको उक्त भवनको निर्माण कार्य बजेट नहुँदा अहिले रोकिएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मल श्रेष्ठका अनुसार भवनको ६० प्रतिशत काम पूरा भएको छ ।
“भवन निर्माणमा झण्डै करोड खर्च भइसकेको छ”, उनले भने, “निर्माण पूरा गर्न अझै चार÷पाँच करोड लाग्ने अनुमान छ ।” रु. १२ करोड ७५ लाखको लागत योजनासहित आश्रमको भवन निर्माण थालिएको थियो । सङ्घ, प्रदेश सरकार, स्थानीय तहलगायत दाताहरुको सहयोगमा भवन निर्माण अगाडि बढेको हो ।
आश्रमका संयोजक विपना तामाङले यस वर्ष सङ्घ सरकारबाहेक अन्य निकायबाट बजेट नछुट्टिएको बताइन् । “यस वर्ष स्रोत जुटाउने कुरामा चुनौती थपिएको छ, सङ्घ सरकारले दिने बजेट पनि देशको पछिल्लो परिस्थितिका कारण कटौती हुने सम्भावना छ”, उनले भनिन् । आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि बजेट अभावकै कारण तोकिएको समयमा भवन बन्ने अवस्था नरहेको संयोजक तामाङको भनाइ छ ।
भवन निर्माणका लागि बाँकी स्रोत जुटाउन यही कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ लगाउने तयारी भइरहेको उनले बताइन् । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवामा सहजता थपिने संयोजक तामाङको भनाइ छ । अहिले बागलुङ बजारको अस्थायी संरचनाबाट आश्रम चलिरहेको छ । साँघुरो ठाउँबाट आश्रम सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा जटिलता छ ।
‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यसहित मानवता प्रवद्र्धन महाअभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका बागलुङसहित विभिन्न जिल्लामा भवन निर्माणाधीन छन् । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार र जीवनरक्षामा आश्रम क्रियाशील छ । आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।
अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको र कैयनको परिवारसँग पुर्नमिलन भएको आश्रमले जनाएको छ । बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि आश्रमको भवन निर्माण सुरु भएको थियो । तीनतले उक्त भवन पनि दुई सय क्षमताको रहने संयोजक तामाङले बताउनुभयो । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहने जनाइएको छ ।
परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरुको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ ।
