बागलुङ, ५ असोज
‘हाम्रो टिम गलकोट’ले सुरु गरेको गाउँटोल र सार्वजनिकस्थलको सरसफाइ अभियान पन्धौँ हप्तामा प्रवेश गरेको छ । उक्त टिमले गत असार ७ गतेदखि हरेक शनिबार सडक, पुल, नाला, चौतारा, धारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइ गर्दै आएको छ ।
पछिल्लोपटक गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको सरसफाइ गरिएको अभियानका संयोजक दीपक शर्मा पौडेलले बताए । कोतघरको सरसफाइ र वृक्षारोपणमा गलकोट–३ को वडा कार्यालय, इलाका प्रहरी कार्यालय, हरिचौरले पनि सहभागिता जनाएको उनले जानकारी दिए ।
‘हाम्रो टिम गलकोट’मा स्वयंसेवी रुपमा जोडिएका युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर गलकोट नगरपालिकाभित्र सरसफाइ अभियान चलाएका हुन् । गत असारको पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरी अभियान सुरु गरिएको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताए ।
त्यसता मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गलकोट–३, ५ र ७ को संगमस्थलमा रहेको दरमखोला पुल, गलकोट–२ नरेठाँटीको पुल, गलकोट–३ रजराको ऐतिहासिक चौतारो, गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नालीलगायतका सरसफाइ गरिएको उनले बताए ।
गलकोटलाई वातावरणीय स्वच्छतायुक्त नगरका रुपमा विकास गर्न सरसफाइ अभियानमा सबै जुट्नुपर्ने उनको भनाइ छ । यस्तै गलकोटमा पर्ने मध्यपहाडी लोकमार्ग अन्तर्गतका यात्रु प्रतिक्षालय, गलकोट–९ को लक्ष्मीनारायण मन्दिर, गलकोट–५ टेउवा अवस्थित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला सङ्ग्रहालय, गलकोट माध्यमिक विद्यालय आदिको सरसफाइ गरिएको हो । अन्तर्राष्ट्रिय रेडक्रस दिवस र संविधान दिवसका अवसरमा विभिन्न स्थानमा वृक्षारोपणसमेत गरिएको अभियानका संयोजक पौडेलले बताए ।
“निर्माण भएको वर्षौँ बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा मुख्य सडक र पुलमा कुरुप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, उनले भने “सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।” सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रुपमा सञ्चालन हुने संयोजक पौडेलले बताए ।
घरबाटै कुटोकोदालो, गैँती, बेल्चा जस्ता औजार लिएर स्थानीय बासिन्दा सरसफाइमा जुट्ने गरेका छन् । सुरुमा पाँच जनाबाट सुरु भएको उक्त अभियानमा अहिले झण्डै ५० जना आबद्ध भएका छन् । हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । सरसफाइप्रति समुदायस्तरमा जनचतेना अभिवृद्धिका लागि उक्त अभियान महत्वपूर्ण रहेको गलकोट–३ का वडाध्यक्ष फम खत्रीले बताए ।
