• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

विपद् प्रभावित क्षेत्रमा मनोसामाजिक सचेतना

बागलुङ, २२ असोज

पर्वतको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकका लागि मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सुरु भएको तीनदिने अभियानअन्तर्गत पहिलो दिन बाढी तथा विपद् प्रभावित क्षेत्रका शिक्षक र विद्यार्थीलाई लक्षित गरी छुट्टाछुट्टै सत्रमा कार्यक्रम सञ्चालन गरिएको हो।

हालैको बाढी तथा प्राकृतिक विपत्तिका कारण बालबालिका र शिक्षकमा परेको मानसिक असर, डर तथा त्रास कम गर्दै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले फर्से क्षेत्रलाई अभियानको पहिलो दिन प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव योगराज कँडेलले शिक्षकहरूलाई तनाव व्यवस्थापन, मनोसामाजिक रूपमा स्वस्थ रहने उपाय तथा आपत्कालीन अवस्थामा विद्यार्थीलाई दिनुपर्ने प्राथमिक मनोवैज्ञानिक सहयोग का विषयमा सहजीकरण गर्नुभएको थियो। विद्यार्थीका लागि कार्यसमिति सदस्य उमा चालिसे र सदस्य शारदा शर्मा आचार्यले टोलीकार्य, कथा वाचन तथा संवादमार्फत डर र तनाव व्यवस्थापन एवं सकारात्मक सोच विकासका उपायबारे सचेतना प्रदान गर्नुभएको थियो।

अभियानअन्तर्गत असोज २३ गते धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवालाई लक्षित गरी तनाव व्यवस्थापन तथा डिजिटल कुलतसम्बन्धी कार्यशाला आयोजना गरिनेछ। कार्यक्रममा परीक्षा तथा भविष्यको चिन्ता र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट हुने असर न्यूनीकरणका विषयमा अभ्यास गराइनेछ।

त्यस्तै, असोज २४ गते बागलुङका क्रियाशील पत्रकारका लागि आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ तथा सञ्चारकर्मीको मानसिक स्वास्थ्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन गरी तीनदिने अभियानको औपचारिक समापन गरिने आयोजक खुसी मन बागलुङले जनाएको छ।