बागलुङ, २१ असोज
बागलुङका स्थानीय तह, सरकारी कार्यालय र गैरसरकारी संस्थाद्वारा गत आव २०८२/०८३ मा संचालित विकास निर्माण योजना तथा कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि सुरू भएको छ ।
समीक्षा गोष्ठीका अवसरमा जिल्ला समन्वय समिति बागलुङले जिल्लास्थित उत्कृष्ट स्थानीय तह, संघीय तथा प्रादेशिक कार्यालयलाई सम्मान गरेको छ।
जिल्लास्थित स्थानीय तह, संघीय तथा प्रादेशिक कार्यालय र गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै उत्कृष्ट सम्पादन गर्ने कार्यालय तथा स्थानीय तहलाई सम्मान गरिएको हो।
स्थानीय तहतर्फ नगरपालिकामा गलकोट नगरपालिका र गाउँपालिकामा तमानखोला गाउँपालिका सम्मानित भएका छन्।
त्यस्तै, संघीय कार्यालयतर्फ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यालय र प्रादेशिक कार्यालयतर्फ जनस्वास्थ्य कार्यालय, बागलुङ सम्मानित भएका छन्।
सम्मानित कार्यालयका प्रमुखहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सोम शर्मा , प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दोसल्ला र कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो।
स्थानीय तहको वित्तीय अवस्था मूल्याङ्कनका लागि विभिन्न सूचकहरू तयार गरी सोही आधारमा उत्कृष्ट गाउँपालिका र नगरपालिका छनोट गरिएको हो।
तोकेको समयमा सभामा बजेट पेस र पारित गरेको, आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनमा हासिल गरेको प्रगति प्रतिशत, पूँजीगत खर्च प्रगतिको आधार, कुल खर्च प्रगतिको आधार, हालसम्मको कुल सञ्चित बेरुजु लगायतका आधारमा उत्कृष्ट छनोट गरी सम्मान गरिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिनुभयो।
त्यस्तै, संघीय तथा प्रादेशिक कार्यालयलाई भने सेवा प्रवाह, कार्यसम्पादन र कार्यालय व्यवस्थापनका आधारमा मूल्याङ्कन गरी छनोट गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो।
सम्मानले स्थानीय तह तथा सरकारी कार्यालयलाई सेवा प्रवाह, कार्यसम्पादन र विकास निर्माणका क्षेत्रमा थप प्रभावकारी काम गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको प्रमुख थापाले बताउनुभयो ।