बागलुङ, १८ असोज
बागलुङमा तीव्र रूपमा बढ्दै गएको डेङ्गी संक्रमण पछिल्लो समय भने क्रमशः घट्न थालेको छ। जिल्लामा ११औँ हप्तासम्मको तथ्यांकअनुसार डेङ्गी संक्रमण उच्च बिन्दुबाट घट्दो क्रममा रहेको छ।
साप्ताहिक तथ्यांकअनुसार साउनको पहिलो हप्तामा ५६ जना डेङ्गी संक्रमित भेटिएका थिए। दोस्रो हप्तामा संक्रमितको संख्या बढेर १३० पुगेको थियो भने तेस्रो हप्तामा केही घटेर ९६ जनामा झरेको थियो। त्यसपछि संक्रमितको संख्या निरन्तर बढ्दै सातौँ हप्तामा २४६ जनासम्म पुगेको थियो। उक्त संख्या सो अवधिको सबैभन्दा बढी हो।
सातौँ हप्तापछि भने संक्रमण क्रमशः घट्दै गएको देखिएको छ। आठौँ हप्तामा २३१, नवौँ हप्तामा १८० र दशौँ हप्तामा १९० जना संक्रमित भएका थिए। ११औँ हप्तामा भने संक्रमितको संख्या घटेर ११८ जनामा झरेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार मौसममा आएको परिवर्तनसँगै पछिल्लो समय गरिएको डेङ्गी सर्वेक्षण, लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान तथा जनचेतनामूलक कार्यक्रमले नागरिकमा सचेतना बढेकाले संक्रमण घटेको हुन सक्ने देखिएको छ।
यद्यपि संक्रमण घट्दै गएको भन्दै ढुक्क हुने अवस्था नरहेको प्रमुख शर्माले बताउनुभयो। अघिल्लो वर्षको प्रवृत्ति हेर्दा संक्रमण घटेपछि पनि कुनै बेला ह्वात्तै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ।
“अघिल्लो वर्षको ट्रेन्ड हेर्दा डेङ्गी दर घट्यो भनेर ढुक्क हुने अवस्था छैन। कहिलेकाहीँ ह्वात्तै बढेर पनि जान सक्छ,” शर्माले भन्नुभयो।
कात्तिक अन्तिमसम्म डेङ्गी फैलाउने लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने स्थान नष्ट गर्ने, घर तथा वरपरको सरसफाइ गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो।
साउनदेखि हालसम्म बागलुङमा कुल १ हजार ८३५ जनामा साउनदेखि हालसम्म बागलुङमा कुल १ हजार ८३५ जनामा डेङ्गी संक्रमण देखिएको छ।