• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

पाक्दै थियो धान, खेतै लग्यो बाढीले

बागलुङ, १७ असोज

फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्राउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दुःखजिलो गरेर उब्जाएको धानबाली मात्र लगेन खेत नै बगाइदियो ।

बागलुङको गलकोट नगरपालिका–९ का किसान यतिबेला प्रकृतिको प्रहार सहन बाध्य छन् । लहलह धान फल्ने खेत बगरमा परिणत हुँदा किसान गहिरो चिन्तामा छन् । फापरखेतका पुरुषोत्तम गौतमले झेतुङमा रहेको आफ्नो १८ मुरी धान फल्ने खेत बाढीले बगाएको बताउनुभयो ।

“नामोनिसान नरहने गरी खेत सबै बाढीले लग्यो, बाउबाजेले आर्जेको खेत बगर पल्टँदा मन भारी भएको छ”, उहाँले भन्नुभयो, “खेतकै उब्जनीले घरपरिवार धानिन्थ्यो, यसपालि प्रकृतिले हामीलाई ठग्यो, हाम्रो आवाज खै कस्ले सुन्छ रु” टिमुरबोटका टेकराज शर्माको पीडा पनि उस्तै छ । उहाँको १२ मुरी धान फल्ने चार रोपनी खेत बाढीले कटान गरेको छ ।

“धाने पाकेर घर भित्राउने बेलामा भएको खेत पनि सबै बाढीले बगायो”, उहाँले भन्नुभयो, “दुःख गरेर जोडेको खेत सबै सकियो, राज्यले क्षतिपूर्तिको व्यवस्था गर्न सके हामीलाई केही राहत हुनेथियो ।”

उहाँले आफूजस्तै धेरै छिमेकीहरु बाढीको मारमा परेको बताउनुभयो । गत शनिबार रातिको भारी वर्षापछि दरमखोलामा आएको बाढीले तटीय क्षेत्रमा बढी क्षति पु¥याएको छ । बाढीले उक्त वडामा केही घरगोठसमेत बगाएको गलकोट–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार बाढीले टिमुरबोट, ब्राहमुरी, झेतुङ, सयमुरीलगायत ठाउँमा खेत कटान गरेको हो । “बाह्रमुरीमा रहेको मेरो आफ्नै १० मुरी धान फल्ने खेतमा पनि अहिले खोला हिँडेको छ”, उहाँले भन्नुभयो, “यस वडाका धेरै किसानको मुख्य उब्जाउ क्षेत्र बाढीले बगाएको छ ।”

मुख्य खाद्यबाली धान भित्राउने बेलामा आएको बाढीले खेत नै बगाएपछि किसान पीडामा रहेको उहाँले बताउनुभयो । राम्रो बाली लाग्ने उब्जाउ जमिन नासिँदा गाउँको कृषि प्रणालीमा नकारात्मक प्रभाव पर्ने देखिएको वडाध्यक्ष थापाले बताउनुभयो ।

बाढीबाट पुगेको क्षतिको विवरण सङ्कलन गरेर प्रभावित किसानलाई राहत उपलब्ध गराउन वडा कार्यालयमार्फत आवश्यक प्रकृया अगाडि बढाइएको उहाँको भनाइ छ । बाढीबाट प्रभावित एक सय ३५ परिवारमध्ये सबैभन्दा धेरैको खेत कटान गरेको उहाँले बताउनुभयो ।

गलकोट–३ मा पनि करिब २० रोपनी खेतमा बाढीले क्षति पु¥याएको उक्त वडाका अध्यक्ष फम खत्रीले बताउनुभयो । गलकोटमा मानवीय क्षति नभएपनि व्यक्ति र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ ।

नगर प्रमुख भरत शर्मा गैरेले दरमखोलाले गलकोटका वडा नं। ३, ५, ६, ८, ९ लगायतका वडामा खेत कटान गरेको बताउनुभयो । उहाँले धानखेत कटान भएका किसानलाई एक रोपनी बराबरको रु। चार हजार राहत दिने निर्णय भएको बताउनुभयो ।

“बाढीले धानबालीमा पु¥याएको क्षतिका लागि किसानलाई चार हजारदेखि बढीमा १६ हजारसम्म क्षतिपूर्ति दिँदैछौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाका तर्फबाट बाढी प्रभावितलाई तत्कालका लागि राहत व्यवस्था गरेका छौँ, पुनःनिर्माणका कामलाई योजनाबद्ध रुपमा अगाडि बढाउँछौँ ।”

क्षतिको एकीन विवरण सङ्कलन गर्ने काम भइरहेको उहाँको भनाइ छ । प्राररम्भिक विवरण अनुसार बाढीपहिरामा कारण नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ । ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको प्रमुख गैरेले बताउनुभयो ।

“खेतसँगै कृषि फार्म, पशुपालन व्यवसायमा पनि बाढीले क्षति पुर्याएको छ”, उहाँले भन्नुभयो, “उहाँहरुका लागि राहत र क्षतिपूर्तिका लागि निरन्तर पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षासँगै निम्तिएका बाढीपहिराका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । पहिरामा परी जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगको छ ।