• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

मुख्यमन्त्री पाण्डेद्वारा विपद्पछिको राहत तथा पुनस्स्थापनाका लागि सङ्घ सरकारको ध्यानाकर्षण

पोखरा, १७ असोज
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साताको बाढीपहिरोले गण्डकी प्रदेशमा पुर्याएको क्षतिको जानकारीसहित राहत र पुनर्निर्माणका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी उहाँले यही असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट गण्डकी प्रदेशका मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनुभयो ।

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट गण्डकी प्रदेशमा ३० भन्दाबढीको मृत्यु भएको छ भने पुल, सडक, विद्यालय, सरकारी कार्यालय र निजी घरगोठ गरी भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध भएका राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

बेनी–जोमसोम–कोरला सडक, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेँसीसहर–मनाङ सडक लगायतका सडकमा ठूलो क्षति पुगेकाले तत्काल मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको उहाँको भनाइ थियो । चाडपर्वको समय नजिकिँदै गर्दा सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सकिएन भने दसैँका बेला नागरिकले ठूलो सास्ती व्यहोर्नुपर्ने अवस्था आउन सक्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रादेशिक सडक तथा तत्काल मर्मत गर्नुपर्ने वैकल्पिक सडकमा प्रदेश सरकारबाट काम अघि बढिरहेको जानकारी दिँदै उहाँले राष्ट्रिय राजमार्ग तथा संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने सडक र पुलको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार विकासमन्त्री लम्सालसँग आग्रह गर्नुभयो ।

मानवीय क्षतिसँगै सरकारी संरचना, सडक, पुल, विद्यालयलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले प्रदेश र स्थानीय तहलाई पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिदिन पनि उहाँले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराउनुभयो । मुख्यमन्त्री पाण्डेले वैकल्पिक नाकाका रूपमा गण्डकी प्रदेशको मुस्ताङस्थित कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सङ्घ सरकारसँग आग्रह गर्नुभयो ।

त्यस क्रममा अर्थमन्त्री वाग्लेले विपद्पछिको राहत तथा पुनर्निर्माणमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री लम्सालले राष्ट्रिय राजमार्गमा बाढीपहिरोका कारण पुगेको क्षतिको मूल्याङ्कन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी मर्मत तथा पुनर्निर्माणको काम छिटो अघि बढाइने बताउनुभयो ।