• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

एनआरएनएद्वारा बागलुङका बाढीपहिरो प्रभावितका लागि १२ लाख बढीको राहत प्रदान

बागलुङ, १६ असोज

बागलुङका बाढीपहिरो प्रभावितका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले १२ लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको छ।

एनआरएनएले ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो। सडक सञ्जाल अवरुद्ध रहेकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भएपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, बागलुङलाई हस्तान्तरण गरिएको हो।

राहत सामग्रीमा चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ, चिनी, चियालगायत खाद्यान्न तथा सिरक, डसना र सिरानी रहेका छन्। साथै ३० थान पावर बैंक र ३० थान इमर्जेन्सी लाइटसमेत उपलब्ध गराइएको छ।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले प्रमुख जिल्ला अधिकारी आचार्यलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा सिन्धुलीका सांसद आशिष गजुरेल, बागलुङका सांसद सोम शर्मालगायतको उपस्थिति रहेको थियो।

यसैगरी, एनआरएनएले निसीखोला गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का ६८ बाढीपहिरो प्रभावित घरपरिवारलाई करिब ७ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेको छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सहयोग गरिएको एनआरएनएले जनाएको छ।

जिल्लामा बाढीपहिरोका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भइरहेका बेला स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा प्रभावित परिवारसम्म राहत पुर्‍याउने काम भइरहेको छ।