• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

सुपथ मूल्य पसलमा ४३ सय सेवाग्राही लाभान्वित

बागलुङ, १६ असोज

बागलुङमा दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट हालसम्म ४३ सय बढी सेवाग्राही लाभान्वित भएका छन् । असोज ५ गतेबाट संचालनमा आएको पसलबाट हालसम्म २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सुपथ मूल्य पसलमा सबैभन्दा बढी चिनी बिक्री भएको छ। हालसम्म १८ हजार १०४ केजी चिनी बिक्रीबाट १८ लाख १० हजार ४०० रुपैयाँ आम्दानी भएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

त्यस्तै, १३ हजार ६४२ केजी नुन बिक्रीबाट ३ लाख २७ हजार ४०८ रुपैयाँ, ४८२ लिटर तेल बिक्रीबाट १ लाख ८३ हजार १६० रुपैयाँ आम्दानी भएको छ।

यसैगरी, दुई केजीको आटा ७२३ प्याकेट बिक्रीबाट १ लाख ८ हजार ४५० रुपैयाँ, दुई केजीको मैदा ३५० प्याकेट बिक्रीबाट ६८ हजार ५०० रुपैयाँ तथा पाँच केजीको आटा २३० प्याकेट बिक्रीबाट ८० हजार ५०० रुपैयाँ आम्दानी भएको श्रेष्ठले बताउनुभयो।

औसत दैनिक ५०० देखि ५५० जनासम्मले सेवा लिइरहेका छन्। दशैं–तिहारलाई लक्षित गरी सञ्चालन गरिएको पसलमा उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले जनाएको छ।

सुपथ पसलबाट चिनी प्रतिकिलो १०० रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ, शुद्ध तोरीको तेल प्रतिलिटर ३८० रुपैयाँ, आँटा दुई केजीको १५० रुपैयाँ र मैदा दुई केजीको १५० रुपैयाँमा बिक्रि गरिएको छ ।

प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन, पाँच लिटर तोरीको तेल तथा आँटा र मैदा चार–चार केजीका दरले खरिद गर्न पाइने प्रमुख श्रेष्ठले बताउनुभयो। सुपथ मूल्य पसल कात्तिक ३० गतेसम्म बिहान ९ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाका दिन भने पसल बन्द रहनेछ।