• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

ढलेको भवन हेर्दै वडाध्यक्षले भने, “मेरो मन-आत्मा त्यहीँ छ”

बागलुङ, १५ असोज

आफ्नै पालामा ठडिएको वडा कार्यालय भवन कार्यकालको आखिरीतिर आइपुग्दा दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन नराम्रोसँग कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिनुभएका वडाध्यक्ष थापा भावुक सुनिनुभयो ।

दरमखोला किनारमा लडेको भवनतिर हेर्दै उहाँले भन्नुभयो, “मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ ।” वडाध्यक्ष थापाको बाह्रमुरीमा रहेको धानखेत पनि गत आइतबार आएको बाढीका कारण बगर पल्टिएको छ ।

उहाँलाई आफ्नो निजी सम्पत्तिमा पुगेको क्षतिभन्दा वडा कार्यालय भवन ढलेकामा बढी पिरलो छ । स्थानीयवासी पनि वडाको ‘गहना’का रुपमा रहेको वडा कार्यालय भवन बाढीमा बग्दा चिन्तित रहेको वडाध्यक्ष थापाले सुनाउनुभयो । वडा कार्यालयका अभिलेखसहित केही महत्वपूर्ण सामग्री÷उपकरण बचाउन सकिएपनि सबैको पहलमा बनेको भवनसहित सरकारी सम्पत्ति नास हुँदा दुःख लागेको उहाँको भनाइ छ ।

“अहिलेपनि म राम्रोसँग निदाउन सकेको छैन, अझै पनि ढलेको भवनभित्रबाट केही सामान झिक्न सकिन्छ कि भनेर यहाँ आइरहन्छु, मेरो मन–आत्मा त्यहीँ भवनमा छ”, उहाँले भन्नुभयो । विसं २०७४ को स्थानीय तह चुनावमा थापा वडाध्यक्षमा निर्वाचित भएपछि उहाँसहित स्थानीयवासीको विशेष पहल र नगरपालिकाको रु. ८० लाख बजेटबाट वडाको कार्यालय भवन निर्माण भएको थियो । दोस्रो कार्यालय पनि वडाध्यक्ष बन्नुभएका थापाले भवनलाई सुविधायुक्त बनाउन स्रोतसाधनको जोहो गर्नुभएको थियो ।

चिटिक्कको भवन छिनभरमै ढल्दा मन भारी भएको उहाँको भनाइ छ । वडाको बजेट र स्थानीयवासीको सहयोगबाट तीन रोपनी जग्गा खरिद गरी भवन बनाइएकामा अहिले नामोनिसान नरहने गरी भवन र जग्गा बाढीले बगाएको हो । भवनसँगै झण्डै १५ लाख रुपैयाँमा जडान गरिएको सौर्य उर्जामा पनि क्षति पुगेको वडाध्यक्ष थापाले बताउनुभयो । नदीले कटानले भवनमा जोखिम बढ्दै गएपछि स्थानीयवासी मिलेर कम्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामान भवनबाट झिक्न सफल भएका थिए ।

दरमखोलाको बहावले जमिन छिचोल्दै गएपछि आइतबार बेलुका ४ बजेतिर वडा भवन खोला किनारमा ढलेको थियो । जगैदेखि ढलेपनि भवनको माथिल्लो संरचनामा भने खासै क्षति नपुगेको स्थानीयवासी हुमलाल ढकालले बताउनुभयो । “भवनको संरचना बलियो रहेछ, जगबाटै पल्टदाँ पनि भवनको झ्यालको सिसासमेत फुटेको छैन”, उहाँले भन्नुभयो, “खोलाको कटानले जग खल्बलिएर ढलेको भएपनि भवन सग्लै छ ।”

बाढीले वडा कार्यालय नजिक रहेको ढकालको घर पनि जोखिममा परेको छन् । “पानी पर्यो भने घर छाडेर हिँड्नुपर्ने अवस्था छ”, ढकालले भन्नुभयो, “बाढी प्रभावितको राहत र पुनःनिर्माणमा सरकारले ध्यान दिओस् भन्ने हाम्रो माग छ ।” बाढीले वडा नं. ९ का केही घरगोठ र ठूलो मात्रामा धानखेत बगाएको छ । बाह्रमुखी, टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धानसँगै खेत बाढीले उजाडेपछि किसान पीडामा छन् ।

गलकोट नगरपालिकाले क्षतिको एकीन विवरण सङ्कलन गर्ने काम भइरहेको जनाएको छ । प्राररम्भिक विवरण अनुसार बाढीपहिरामा कारण गलकोठ नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ । ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको जनाइएको छ । नगर प्रमुख भरत शर्मा गैरेले सरकारी र निजी गरी करोडौँको भौतिक सम्पत्तिमा क्षति पुगेको बताउनुभयो ।

“बाढीका कारण गलकोटमा मानवीय क्षति नभएपनि ठूलो भौतिक क्षति भएको छ”, उहाँले भन्नुभयो, “बाढीपहिरो प्रभावित परिवारका लागि तत्काल राहतसँगै पुनःनिर्माणका काममा योजना बनाएर काम गर्छौँ ।” यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षासँगै निम्तिएका बाढीपहिराका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । पहिरामा परी जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगको छ ।