बागलुङ, १५ असोज
कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबारदेखि सुचारू भएको छ । कुश्मा नगरपालिका९१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात
सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार नयाँपुलको सडक बनेसँगै लोकमार्गको पर्वत खण्डमा सिधा यातायात सुचारू भएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुल सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने जनाइएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बाढीले बगाएको मालढुङ्गा पुलको पहुँच सडक पुनःनिर्माणको काम भइरहेको बताउनुभयो । बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक संजालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध गरेको थियो ।
कतिपय ठाउँमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएपनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही समय लाग्ने देखिएको छ ।