• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बाढीपहिराको कहर : यात्रामा सास्ती

बागलुङ, १४ असोज
बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि गत आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि नै बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो र नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नुभएन ।

बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि मङ्गलबार बिहान सदरमुकामसम्म आउनुभएकी बुढाथोकीलाई पवर्त हुँदै पोखरा आइपुग्न अर्को सास्ती व्यहोर्नुप¥यो । बागलुङ बजारदेखि झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म झण्डै ४५ मिनेट हिँडेपछि मात्र उहाँले पोखराका लागि गाडी भेटाउनुभयो । बागलुङ र पर्वतको सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रुहरु कठिनाइ सहँदै वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् ।

मालढुङ्गाको पुलसँगै पर्वतको कुश्मा नगरपालिका–२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, पोखरा हुँदै बाहिरी गन्तव्यमा जाने यातायात सेवा प्रभावित बनेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट लोकमार्ग हुँदै काठमाडौँका लागि छुट्ने यातायातका साधन पनि सञ्चालनमा आउन सकेका छैनन् ।

मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अफ्टेरोमा परेका छन् । बिरामी लिएर पोखरा आउनुभएका बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका प्रेम श्रीसले मालढुङ्गाको पुल छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।

“बागलुङ जोड्ने मुख्य सडक र पुलमा क्षति पुगेकाले आवातजावत र ढुवानीमा ठूलो समस्या देखिएको छ”,  उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जतिसक्दो चाँडो लोकमार्ग सञ्चालनमा ल्याउनुपर्छ ।” धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले वैकल्पिक सडक प्रयोग गरेर मुश्किलले साना सवारीसाधन मात्र सञ्चालन भइरहेको बताउनुभयो ।

“बस त सञ्चालन गर्न सक्ने अवस्था नै छैन, सबैभन्दा समस्या बिरामीलाई परेको छ”, उहाँले भन्नुभयो, “आज बिहान मात्रै बागलुङबाट बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो ।” उहाँले लोकमार्गमा क्षति पुगेका सडक–पुलको पुनःनिर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।

बागलुङबाट पोखरालगायत गन्तव्यमा छुट्ने साना सवारीसाधन कालीगण्डकी करिडोर भएर ज्यामिरेघाट–फलेवास हुँदै झण्डै एक घण्टाको फेरो बाटोबाट लोकमार्गमा निस्कने गरेका छन् । बागलुङ–पोखरा चल्ने विद्युतीय माइक्रोबसले बागलुङ बजारदेखि हिँडेर पर्वतको पाङसम्म आइपुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा ल्याउन वैकल्पिक सडक प्रयोग गरिरहेको माइक्रोका चालक सुवास परियारले बताउनुभयो ।

“मालढुङ्गाको पुल नै भत्केपछि ठूलो समस्या भएको छ, यो पुल छिटो बनाउन सरकारले विशेष ध्यान देओस्”, उहाँले भन्नुभयो, “चाडपर्वको बेला छ, यो बेला हामीले पनि धेरै यात्रुलाई सेवा दिने समय हो, तर सडक अवरुद्ध हुँदा समस्या भइरहेको छ ।” कालीगण्डकी करिडोरबाट फलेबास हुँदै आउने सडक पनि वर्षाले क्षति पु¥याएका कारण यात्रा सहज नरहेको उहाँको भनाइ छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नयाँपुलमा सडक कटान गरेको ठाउँमा अस्थायी रुपमा नयाँ मार्ग खोल्ने काम सुरु भइसकेको बताउनुभयो । आजभोलिमै एकतर्फी रुपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । मालढुङ्गाको पुलमा क्षतिग्रस्त भएको ठाउँमा ‘बेलिब्रिज’ राख्ने कि अन्य प्रविधिबाट पुनःनिर्माण गर्ने भन्ने विषय एकीन भइनसकेको प्रजिअ क्षेत्रीले बताउनुभयो ।

“सम्बन्धित क्षेत्रका इन्जिनियर र प्राविधिकहरुबाट पुलको अध्ययन तथा अवलोकन भइसकेको छ, यथाशक्य छिटो पुल सञ्चालनमा ल्याउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक संजालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध गरेको थियो ।

कतिपय ठाउँमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएपनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही समय लाग्ने देखिएको छ । नेपालको उत्तरी नाका चीनको कोरलासँग जोडिएको मालढुङ्गादेखी बेनी हुँदै मुस्ताङ जोड्ने सडक पनि सञ्चालनमा आउन सकेको छैन ।