बागलुङ, १३ असोज
पर्वतस्थित कालीगण्डकी नदीमा आइतबार आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतमा नेपाली सेना सक्रिय बनेको छ । अन्य सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा बाढी प्रभावितको उद्धारदेखि अस्थायी आश्रयस्थल निर्माणसम्मको कार्य गरिएको पर्वतस्थित श्री नयाँ रणभिम गुल्मले जनाएको छ ।
पर्वतको जलजला गाउँपालिका(८ फर्से बजारबाट विस्थापित बनेका ६६ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा राख्न खुला ठाउँमा अस्थायी आश्रयस्थल बनाइएको गुल्मपति अमूल्य केसीले बताउनुभयो ।
फर्से बजारदेखि केही माथि त्रिपाल प्रयोग गरेर आश्रयस्थल निर्माण गरिएको उहाँको भनाइ । “बाढीबाट विस्थापित परिवारका लागि अस्थायी रूपमा आश्रयस्थलको व्यवस्था गरिएको छ”, गुल्मपति केसीले भन्नुभयो, “केही परिवार आफन्तकोमा बस्नुभएको छ, कोही सामुदायिक भवनमा हुनुहुन्छ, अस्थायी बासका लागि कुनै समस्या छैन ।”
जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्राप्त भएका ७५ वटा त्रिपालबाट आश्रयस्थल बनाइएको हो । उद्धार तथा राहतमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी सक्रिय बनेका थिए ।
कालीगण्डकीको कटानले पुरानो फर्से बजारका ६६ घर बगाएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो । यस्तै, २६ घर उच्च जोखिममा रहेको उहाँको भनाइ छ । बाढी प्रभावितका लागि तत्काल राहत सामग्री उपलब्ध गराउन गाउँपालिकामार्फत पहल भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
जिल्लाका कालीगण्डकी, मोदीलगायत नदी(खोलामा जलसतह उच्च भएसँगै बाढी, नदी कटान तथा पहिरोको जोखिम बढेपछि श्री नयाँ रणभिम गुल्मबाट परिचालित टोली उद्धार तथा विपद् प्रतिकार्यमा जुटेको थियो ।
गुल्मको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्थानीय बासिन्दासँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सामुदायिक भवन तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विपद् प्रभावितका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत सामग्री वितरणलगायतका कार्य गरेको हो ।
फर्से क्षेत्रमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउनसमेत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।