बागलुङ, १३ असोज
नेपाली कांग्रेसमा यतिबेला १५औं महाधिवेशनको सरगर्मी चलिरहेको छ । वडा, गाउँपालिका र नगरपालिकाको अधिवेशनपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा कांग्रेस होमिएको छ ।
बागलुङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि मंगलबारदेखि अधिवेशन सुरू हुँदैछ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा पनि अधिवेशनको तयारीमा काँग्रेस जुटेको छ ।
क्षेत्रीय सभापतिको दौडका लागि नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् । यस क्षेत्रमा २०७९ मा भएको अधिवेशनमा चार मतले पराजित खड्क थापा पनि उम्मेदवारका रूपमा अघि सर्नुभएको छ । उहाँ अघिल्लो चुनावमा अहिलेका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलसँग पराजित हुनुभएको थियो ।
काठेखोला गाउँपालिका(१ का वडाध्यक्षसमेत रहनुभएका थापा विद्यार्थी राजनीतिबाट उदाउनुभएका युवा नेता हुनुहुन्छ । कम उमेरमै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएका उहाँ यसपटक क्षेत्रीय सभापति बनेर पार्टीमा युवा नेतृत्व स्थापित गर्ने योजनामा हुनुहुन्छ ।
काठेखोला(१ पालाको वडा सभापति, नेपाल विद्यार्थी संघको जिल्ला सभापति, स्वतन्त्र विद्यार्थी युनियन, धवलागिरि बहुमुखी क्याम्पसको सचिव हुँदै दुईपटकसम्म वडाध्यक्ष बन्नुभएका थापा राजनीतिसँगै सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । २०५८ सालमा कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघबाट उहाँको राजनीतिक यात्रा सुरू भएको थियो ।
हाल उहाँ क्षेत्रीय समितिको सदस्यको रुपमा उहाँ पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले समयसापेक्ष रूपमा पार्टीको रूपान्तरण र संगठन सुदृढीकरणका लागि क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।
थापासँगै बलेवाका नारायणप्रसाद श्रेष्ठले पनि क्षेत्रीय सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । २०५४ बाट नेपाल विद्यार्थी संघमा जोडिएर राजनीतिक यात्रा सुरू गर्नुभएका श्रेष्ठले पार्टीका महत्वपूर्ण जिम्मेवारी सम्हालीसक्नुभएको छ ।