बागलुङ, ९ असोज
बागलुङ जिल्ला जैमिनी नगरपालिका–१० राङखानी पाहिका ४३ वर्षीय बिरु गाहा मगरले दुवै मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
उपचारको बढ्दो खर्च धान्न नसकेपछि उनले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गर्न आग्रह गर्नुभएको हो ।
हाल बिरुले पोखरास्थित गण्डकी अस्पतालमा नियमित डायलाइसिस गराइरहनुभएको छ । किड्नी प्रत्यारोपणको तयारीस्वरूप उनकी दिदी तिला गाहा मगरको किड्नी परीक्षण भइरहेको छ। प्रारम्भिक परीक्षणमा धेरै कुरा मिलेको र अझै केही परीक्षण बाँकी रहेको बिरुले बताउनुभएको छ । सबै परीक्षण सफल भएमा तिला गाहा मगरले भाइ बिरुलाई किड्नी दान गर्ने जनाइएको छ ।
परीक्षण प्रक्रिया पूरा भएपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा किड्नी प्रत्यारोपण गर्ने तयारी गरिएको परिवारले जनाएको छ।
बिरुका अनुसार सुरुमा उपचार सामान्य खर्चमै हुने अनुमान गरिएको थियो। तर उपचार लम्बिँदै जाँदा खर्च निरन्तर बढ्दै गएपछि आर्थिक अवस्था कमजोर बनेको र त्यसपछि सहयोगको अपिल गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
बिरुका भतिजा मित्र थापाका अनुसार हालसम्म विभिन्न व्यक्तिबाट करिब पाँच लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको छ। उपचार सहज बनाउन दाजुभाइ, गाउँले, साथीभाइ र शुभेच्छुकसँग सहयोगको अपिल गरिएको उहाँले जानकारी दिनुभयो ।
बिरु पाँच वर्ष दक्षिण कोरियामा वैदेशिक रोजगारीमा बसेर फर्कनुभएको थियो । स्वदेश फर्किएपछि गाउँमै कृषि पेशामा आबद्ध रहेका बेला उहाँलाई मिर्गौलासम्बन्धी समस्या देखिएको परिवारले जनाएको छ। बिरुका दुई छोरी, एक छोरा र श्रीमती छन्। सबै परीक्षण सकिएपछि काठमाडौंमा किड्नी प्रत्यारोपण गर्ने तयारी भइरहेको छ।
डाक्टरहरूले उपचार र किड्नी प्रत्यारोपणका लागि २० देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने बताएका छन्। तर उपचारका क्रममा थप खर्च बढ्दै गएकाले उक्त रकमले पनि नपुग्ने अवस्था देखिएको बिरुले बताउनुभएको छ । अहिलेसम्म उपचारमा धेरै खर्च भइसकेको छ। उहाँले भन्नुभयो, “जीवन बचाउन सबैको साथ र सहयोगको आवश्यकता परेको छ।”