पोखरा, ९ असोज
लाङटाङ, लिरुङको हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालको हिमाली क्षेत्रले झेलिरहेको जलवायु सङ्कटको मुद्दा मुखर रुपमा उठेको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामासमेत यो विषयले महत्वका साथ प्रवेश पाएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभालाई सम्बोधन गर्ने क्रममा आफूले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको र ‘विश्वको छानो भत्कदैँ गएको’बारे दिएको चेतावनी स्मरण गर्नुभएको छ ।
महासभामा जलवायु न्यायका लागि नेपालका तर्फबाट आवाज उठाउन प्रधानमन्त्री बालेन्द्र शाह पनि यतिबेला अमेरिकामा हुनहुन्छ । उहाँले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेको जनधनको क्षतिबारे विश्वसमुदायलाई ध्यानाकर्षण गराउनुहुने जनाइएको छ ।
यही पृष्ठभूमिमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा ‘अन्नपूर्ण कला कार्यशाला–२०८३’ बिहीबारदेखि सुरु भएको छ । कला कार्यशाला चलिरहेको ठाउँ त्यही हो जहाँ २०८० कात्तिक १४ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पुग्नुभएको थियो ।
अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे प्रत्यक्ष देखे÷बुझेर फर्कनुभएका उहाँले सोही प्रसङ्गलाई संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा उठान गर्नुभएको हो ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जलवायु परिर्वतनका कारण हिमनदी भत्कँदा निम्तिएको भोटेकोशी–त्रिशुलीको विनाशकारी बाढीपछि नेपालले जलवायु न्यायका लागि आवाज उठाइरहेका बेला कला कार्यशालाको विषयवस्तु (थिम) पनि हिमाली क्षेत्रले भोगरिहेको जलवायु सङ्कटमा केन्द्रित रहेको बताउनुभयो ।
कार्यशालामा पोखरा, काठमाडौँ र चितवनका गरी १२ जना कलाकार सहभागी रहेको उहाँको भनाइ छ । “जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई कलामार्फत उजागर गर्ने र सँगै अन्नर्पूण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कला कार्यशाला राखिएको हो”, अध्यक्ष गुरुङले भन्नुभयो, “कलाकारहरु अन्नपूर्ण आधारशिविरमै पुगेर स्थलगत रुपमा कला सिर्जना गरिरहनुभएको छ ।”
पोखराका अग्रज कलाकार रमेश श्रेष्ठको नेतृत्वमा रहेको कलाकार टोली शुक्रबारसम्म कार्यशालामा सहभागी भएर पर्यटकीय गाउँ घान्द्रुक फर्कनेछ । घान्द्रुुकमा पनि दुई दिनसम्म बसेर उक्त टोलीले त्यहाँको प्रकृति, संस्कृति र जनजीवनलाई क्यानभासमा उतार्ने अध्यक्ष गुरुङले बताउनुभयो । चार दिनको पदयात्रापछि बिहीबार बिहान मात्र कलाकारहरु आधारशिविर पुगेका थिए ।
कलाकारले जलवायु सङ्कटको असरसँगै अन्नपूर्ण क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पनि कलामा समेट्ने जनाइएको छ । कार्यशालामा सिर्जित कलालाई पोखरा र काठमाडौँमा प्रर्दशन गरिने भएको छ । “कलाकारका सिर्जनाले जलवायु परिवर्तनका कारण हाम्रो हिमाली क्षेत्रले भोगिरहेको असरप्रति सबैको ध्यानाकर्षण गराउनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो ।
कार्यशालामा कलाकार रमेश श्रेष्ठ, केशर गुरुङ, गोपाल दराई, शान्तकुमार श्रेष्ठ, रिकबहादुर गुरुङ, श्रीजन राजभण्डारी, मुकेश श्रेष्ठ, लिलाधर केसी, दामोदर बराल, वरुणबाबु घिमिरे, सुदिन श्रेष्ठ र विश्व केसी सहभागी हुनुहुन्छ ।
अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समितिलगायत सङ्घसंस्थाहरुको सहयोग र सहकार्यमा कार्यशाला आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील उक्त समितिले हरेक वर्ष अन्नपूर्ण आरोहण दिवस (जुन ३)मा ‘अन्नपूर्ण म्याराथन’को आयोजना गर्दै आएको छ । ‘सबै मौसमका लागि पर्यटन’को अवधारणासहित घान्द्रुकलगायत क्षेत्रमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् ।