• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

भलिबल संघ बागलुङमा नयाँ नेतृत्व, अध्यक्षमा भण्डारी

बागलुङ, ५ असोज
जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन्।

सदस्यमा योगेश भण्डारी, माया रोका, यमदीप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ। अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अधिवेशन उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले बागलुङमा भलिबल लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको र जिल्लाका खेलाडीहरूले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेको बताउनुभयो ।

उहाँले विद्यालय तहदेखि नै भलिबलको विकास, प्रतिभावान् खेलाडीको पहिचान र प्रशिक्षण, नियमित प्रतियोगिता आयोजना तथा दक्ष प्रशिक्षक उत्पादनमा जोड दिनुपर्ने गर्नुभयो। सीमित स्रोतसाधनका बाबजुद खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार, खेल संघ, विद्यालय, क्लब र खेलप्रेमीबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बागलुङ भलिबल खेलाडी उत्पादनको उर्वर भूमि भएको बताउँदै जिल्लाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा स्थापित गरिरहेको बताउनुभयो ।

सरकारी सहयोग पर्याप्त नभए पनि नेपाल भलिबल संघले आफ्नै स्रोतबाट समेत खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशन जिल्ला भलिबल संघ बागलुङका निवर्तमान अध्यक्ष योगेशबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष किशोर थापाको स्वागत तथा महासचिव मनबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो।