बागलुङ, ५ असोज
दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।
सोमबार सुपथ मूल्य पसलको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्वका बेला बजारमा अनावश्यक मूल्यवृद्धि हुने र उपभोक्ता मर्कामा पर्ने भएकाले सरकारले उपभोक्तालाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने नीतिअनुसार सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुभयो। उहाँले जिल्लावासी सम्पूर्ण उपभोक्तालाई यसको लाभ लिन आग्रह गर्नुभयो।
साल्ट ट्रेडिङ कार्यालय बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले कार्यालयले हरेक वर्ष नागरिकलाई सहुलियत उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको र यस वर्ष पनि बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालय भवनबाटै ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, तोरीको तेल, आँटा र मैदा खरिद गर्न सक्ने बताउनुभयो।
उक्त पसलबाट चिनी प्रतिकिलो १०० रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ, शुद्ध तोरीको तेल प्रतिलिटर ३८० रुपैयाँ, आँटा दुई केजीको १५० रुपैयाँ र मैदा दुई केजीको १५० रुपैयाँमा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो।
प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन, पाँच लिटर तोरीको तेल तथा आँटा र मैदा चार–चार केजीका दरले खरिद गर्न पाइने प्रमुख श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो ३० रुपैयाँ, नुनमा प्रतिकिलो चार रुपैयाँ, शुद्ध तोरीको तेलमा प्रतिलिटर ४५ रुपैयाँ तथा आँटा र मैदामा प्रतिकेजी २० रुपैयाँ सस्तो पर्नेछ।
सुपथ मूल्य पसल कात्तिक ३० गतेसम्म बिहान ९ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाका दिन भने पसल बन्द रहनेछ।