• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

इन्टर स्कुल कबड्डी च्याम्पियनसिप : छात्रातर्फ प्रिसियस र छात्रतर्फ विद्यामन्दिर च्याम्पियन

बागलुङ, ४ असोज
कबड्डी नेपाल र जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सञ्चालित इन्टर स्कुल कबड्डी च्याम्पियनसिप–२०८३ को उपाधि छात्रातर्फ प्रिसियस एकेडेमी र छात्रतर्फ विद्यामन्दिर माध्यमिक विद्यालयले जितेका छन्।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ११ विद्यालयको सहभागिता रहेको थियो। छात्रातर्फ विद्यामन्दिर माध्यमिक विद्यालय उपविजेता बनेको छ भने छात्रतर्फ न्यु एभरेस्ट एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ। विजेता टोलीले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा छात्रातर्फ प्रिसियस एकेडेमी ‘ए’ र कन्यामन्दिर माध्यमिक विद्यालय तेस्रो स्थानमा रहे। तेस्रो स्थान हासिल गर्ने टोलीका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बेस्ट डिफेन्डर र बेस्ट रेडर लाई पनि ट्रफी प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेल र विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी ले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

जिल्ला कब्ड्डी संघ बागलुङका अध्यक्ष सन्दीप पन्त ले पछिल्लो समय विद्यालयस्तरमा कब्ड्डी खेल प्रति विद्यार्थी र विद्यालय दुवैको आकर्षण बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार बागलुङमा कब्ड्डी पछिल्लो समय लोकप्रिय तथा प्रतिस्पर्धात्मक खेलका रूपमा स्थापित हुँदै गएको छ। जिल्ला कब्ड्डी संघ बागलुङले वार्षिक रूपमा पाँचदेखि छवटासम्म कब्ड्डी प्रतियोगिता आयोजना गर्दै आएको पन्तले बताउनुभयो । संघले विद्यालयस्तरमा खेल प्रशिक्षणका साथै रेफ्री उत्पादन गर्ने उद्देश्यले रेफ्री तालिमसमेत नियमित रूपमा सञ्चालन गरिरहेको छ ।