• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङमा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो

बागलुङ, ३ असोज
बागलुङमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस २०८३ मनाइएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय मूल समारोह समितिको आयोजनामा दुई दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै दिवस मनाइएको हो।

शनिबार आयोजित मूल समारोहअघि बागलुङ नगरपालिकाको संयोजनमा ऐतिहासिक पार्कबाट प्रभातफेरीसहितको र्‍याली निकालिएको थियो। र्‍याली बाङ्गेचौरस्थित शहीद पार्क पुगेपछि शहीदहरूको प्रतिमामा माल्यार्पण गरिएको थियो। साथै शहीद परिवारका सदस्यहरूलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले संविधानले प्रत्याभूत गरेका अधिकार जनतासम्म प्रभावकारी रूपमा पुग्ने गरी राज्यका सबै निकाय, कर्मचारी र राजनीतिक दलले संविधानको मर्मअनुसार काम गर्नुपर्ने बताउनुभयो। संविधान जारी भएको १२ वर्षमा कार्यान्वयनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले सुशासन र संविधानको प्रभावकारी कार्यान्वयनसँगै नागरिकले संविधानका उपलब्धि अझ बढी अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले संविधानले दिएका अधिकारसँगै नागरिकले आफ्नो कर्तव्यको पनि इमानदारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले संविधानका मूल मूल्य र व्यवस्थाको संरक्षण गर्दै आवश्यक परे वास्तविक आवश्यकता र राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने धारणा पनि राखेका थिए।

मूल समारोहमा नेपाल बार एसोसिएसन बागलुङकी अधिवक्ता गीता श्रीष, नेकपा (एमाले) बागलुङका सचिव गणेशबहादुर थापा, संविधानसभा सदस्य रत्ना शेरचन तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको स्वागत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले गर्नुभएको हो ।

संविधान दिवसको अवसरमा विभिन्न संस्थाहरुको संयोजनमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण एवं सिलाई मेसिन वितरण, मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण। त्यस्तै “नेपालको संविधान कार्यान्वयन, चुनौती र नागरिक कर्तव्य” विषयक अन्तर्क्रिया कार्यक्रम, विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण। धौलागिरी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण र नगर सरसफाइ कार्यक्रम पनि सञ्चाल गरिएको थियो ।