पोखरा, २ असोज
निर्देशक माओत्से गुरुङको चलचित्र ‘पेन्सन पट्टा’ ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले पोखराबाट मात्रै ५१ लाख ४८ हजार रुपैयाँभन्दा बढी व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सन जोड्दा पोखराको कुल व्यापार ५५ देखि ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
निर्माण पक्षका अनुसार चलचित्रले दोस्रो सातामा पनि उत्साहजनक दर्शक साथ पाइरहेको छ। माउथ पब्लिसिटीका कारण दर्शकको आकर्षण बढ्दै गएको र दोस्रो साताको पहिलो शुक्रबार पोखरा लगायत विभिन्न सहरका हलमा चलचित्रका शो हाउसफुल भएको जनाइएको छ। कतिपय हलमा टिकट नपाएर दर्शक फर्किनुपर्ने अवस्था समेत देखिएको छ।
पोखरा ट्रेडमलस्थित क्यूएफएक्स सिनेमाज मा पहिलो सातासम्म १० हजार ६ सय ७० दर्शक ले चलचित्र हेरेका छन्। उक्त हलबाट बिहीबारसम्म ३३ लाख १८ हजार रुपैयाँ ग्रस कलेक्सन भएको क्यूएफएक्स पोखराका म्यानेजर पशुपति कार्कीले जानकारी दिए।
यस्तै, मिडटाउन सिनेमाज मा पहिलो सातामा ६ हजार ३ सय ७० दर्शक पुगेका छन्। मिडटाउनबाट १८ लाख ३० हजार रुपैयाँ ग्रस कलेक्सन भएको म्यानेजर संकेत द्वाले बताए।
यी दुई हलको कलेक्सन मात्रै ५१ लाख ४८ हजार रुपैयाँ पुगेको छ। श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सन प्राप्त हुन बाँकी रहेकाले पोखराबाट कुल व्यापार ५५ देखि ६० लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको हो। चलचित्रको प्रचारमा सामाजिक सञ्जालको प्रभाव पनि उल्लेखनीय देखिएको छ।
टिकटक, फेसबुक लगायतका प्लेटफर्ममा चलचित्रका दृश्य, प्रतिक्रिया र प्रचार सामग्री भाइरल भइरहेका छन्, जसले थप दर्शकलाई हलसम्म आकर्षित गर्न सहयोग पुगेको निर्माण पक्षको भनाइ छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै चलचित्रको माउथ पब्लिसिटी बढ्दै गएको छ। परिवार, समाज, प्रेम, त्याग र जीवनसँग जोडिएका विषयवस्तु प्रस्तुत गरिएकाले चलचित्रले दर्शकको मन जितिरहेको जनाइएको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएका ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’ सँग प्रतिस्पर्धा गर्दै ‘पेन्सन पट्टा’ले दोस्रो साताको यात्रा सुरु गरेको छ। नयाँ चलचित्र प्रदर्शनमा आए पनि पोखराका हलमा ‘पेन्सन पट्टा’को दर्शक उपस्थिति बलियो देखिएपछि शनिबारदेखि ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’का केही शो घटाएर ‘पेन्सन पट्टा’लाई थप शो दिइएको जनाइएको छ।
पोखराबाहेक बुटवल, चितवन, झापा, इटहरी, लमजुङ र तनहुँको दमौली लगायतका सहरमा पनि चलचित्रले राम्रो दर्शक उपस्थिति पाइरहेको निर्माण पक्षले जनाएको छ। पछिल्लो समय काठमाडौंमा समेत चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको बताइएको छ।
स्थानीय परिवेश, सामाजिक यथार्थ र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘पेन्सन पट्टा’ मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, पशुपति राई र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।