• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत

पोखरा, १ असोज

चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आज गुरुङ परम्परा अनुसार शुभमुर्हत गरिएको छ । बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा बन्ने चलचित्रको कथावस्तुमा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेश समेटिने जनाइएको छ ।

चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुर्हत कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री संस्कृति गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ ‘श्याम’लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

शुभमुर्हत कार्यक्रममा बोल्दै चलचित्र निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ गुरुङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा चलचित्र स्थापित हुन सक्ने धारणा राख्नुभयो । नेपाली चलचित्र क्षेत्रमा विस्तारै सुधारको क्रम आइरहेको उल्लेख गर्दै उहाँले विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

चलचित्रका परिकल्पनाकार एवम् निर्माता बेदबहादुर गुरुङ ‘श्याम’ले आफ्ना बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताउनुभयो । गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई चलचित्रमा समेटिने उहाँको भनाइ छ ।
निर्देशक ओमप्रकाश गुरुङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राख्दै चलचित्र निर्माण गरिने बताउनुभयो । सुसन प्रजापतिले छायाँकन गर्ने उक्त चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहनुभएको छ । ३५ दिनभित्र चलचित्रको छायाँकन सक्ने लक्ष्य लिइएको छ ।