• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

गण्डकीमा २३ सय बढीमा डेङ्गी सङ्क्रमण

पोखरा, १ असोज

गण्डकी प्रदेशका १० जिल्लामा गत अङ्ग्रेजी महिना जनवरीदेखि हालसम्म २३ सय ११ जनामा डेङ्गी रोगको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गीको सङ्क्रमण नेदखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । जुलाई महिनापछि डेङ्गी सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताउनुभयो ।

जुलाईमा चार सय १५ जनामा सङ्क्रमण पुष्टि भएकामा अगष्टमा त्यो सङ्ख्या बढेर १२ सय ४७ पुगेको थियो । सेप्टेम्बर लागेयता तीन सय ८२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा दुई सय २८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिनुभयो ।

जसमा सबैभन्दा बढी बागलुङमा एक सय ७० जनामा सङ्क्रमण देखिएको छ । सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जा चार, तनहुँ तीन र लमजुङमा दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको थियो ।

“३६औँ हप्ताको तुलनामा ३७औँ हप्तामा सङ्क्रमण दर केही घटेको छ, अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ”, निर्देशक मिश्रले भन्नुभयो, “जोखिम भने कायमै रहेकाले डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ ।”

प्रदेशभरिमा बागलुङको बागलुङ नगरपालिका डेङ्गीबाट सबैभन्दा बढी प्रभावित भएको उहाँको भनाइ छ । पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका दुई सय २८ मध्ये ५७ जना बागलुङका नगरपालिकामा रहेका छन् । बागलुङपछि कास्कीको पोखरा महानगरपालिकालगायत स्थानीय तहमा सङ्क्रमण बढी देखिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गी सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो । समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गीले प्रकोपको रुप लिने उहाँको भनाइ छ ।

डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उहाँले बताउनुभयो । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उत्तम उपाय भएको चिकित्सक बताउँछन् ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गरेको केन्द्रका निर्देशक मिश्रले बताउनुभयो । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र यसले दिनमा मात्र टोक्ने गरेको उहाँको भनाइ छ ।