• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

तीज कार्यक्रम स्थगित गरी ‘च्यारिटी डिनर’मार्फत बाढी प्रभावितलाई सहयोग संकलन

बागलुङ, ३१ भदौ

पूर्वनिर्धारित तीज कार्यक्रम स्थगित गरी एनआरएनए एनसीसी लक्जेम्बर्गले भोटेकोशी–त्रिशूली बाढी प्रभावितको सहयोगार्थ ‘च्यारिटी डिनर’ आयोजना गरी सहयोग संकलन गरेको छ।

गत आइतबार तीज कार्यक्रमका लागि सबै व्यवस्थापन गरिएपनि नेपालमा गएको विनाशकारी बाढीबाट धेरै परिवार प्रभावित भएपछि कार्यक्रमलाई च्यारिटीमा परिणत गर्ने निर्णय गरिएको थियो ।

च्यारिटी डिनरमा नेपालका पूर्व मानार्थ वाणिज्यदूत, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली र गैरनेपाली समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा बाढीपीडितको अवस्था र राहतको आवश्यकताबारे जानकारी गराइएको एनआरएनए एनसीसी लक्जेम्बर्गका अध्यक्ष दुर्गा केसी थापाले जानकारी दिनुभयो ।

सुरूमा रु.१५ लाख संकलन गर्ने लक्ष्य राखिएकोमा लक्जेम्वर्ग समुदायबाट प्राप्त उत्साहजनक साथका कारण लक्ष्यभन्दा बढी सहयोग जुटाउने अभियान जारी रहेको अध्यक्ष थापाले बताउनुभयो। यसअघि लक्जेम्बर्गस्थित नेपाली समुदायबाट रु.१० लाख ५० हजार राहतस्वरूप पठाइसकिएको छ।

थापाका अनुसार बाढी प्रभावितका लागि राहत तथा सहयोग अभियान अहिले पनि सञ्चालन भइरहेको छ। अध्यक्ष थापाले विपद्को समयमा मानवीय सहयोग र एकता नै सबैभन्दा ठूलो शक्ति भएको भन्दै सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गर्नुभएको छ।