• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

बागलुङमा नियन्त्रण हुन सकेन डेङ्गी

बागलुङ, ३१ भदौ
बागलुङ जिल्लामा डेङ्गी संक्रमण तीव्र बनेको छ । साउनको पहिलो हप्ता ५६ जनामा देखिएको डेङ्गी संक्रमण भदौको अन्तिम सातासम्म एक हजार ४०३ जनामा फैलिएको हो । देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी संक्रमण बागलुङ जिल्लामा देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

डेङ्गी नियन्त्रणका लागि जनस्वाथ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी खोज र नष्ट गर अभियानलाई निरन्तर संचालन गरिरहेको कार्यालय प्रमुख प्रविण शर्माले बताउनुभयो । उहाँले सचेतनाका लागि विद्यालय अझ प्रभावकारी माध्यम हुने भन्दै सामुदायिक तथा निजी विद्यालयहरुमा पनि डेङ्गी नियन्त्रणका लागि सचेतनमूलक कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।

शर्माले समुदायका नागरिक स्वयं सक्रिय भएर हरेक हप्ता खोज र नष्ट गर अभियानमा सहभागी नभए सम्म डेङ्गु नियन्त्रण प्रभावकारी नहुने बताउनुभयो । वर्षायाम जारी रहेकाले लामखुट्टेको प्रजनन बढ्ने सम्भावना रहको र डेङ्गी संक्रमितको संख्या असोज, कात्तिकसम्म बढ्न सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किरण तिवारीले दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गुको संक्रमण देखिएको र अहिले सम्म बिरामीमा कुनै पनि जटिल समस्या नदेखिएको बताउनुभयो । उहाँका अनुसार सामान्य लक्षण भएका संक्रमितलाई औषधिसहित फलोअपमा राखिएको छ भने जटिल अवस्था भएका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको छ। डेंगु भाइरल रोग भएकाले ज्वरो, टाउको तथा शरीर दुख्ने, आँखाको पछाडि दुख्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएमा परीक्षण गराई चिकित्सकको परामर्श लिन डा। तिवारीले आग्रह गर्नुभयो ।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार संक्रमण अपेक्षित रूपमा नियन्त्रणमा आउन नसकेपछि अब टोल विकास संस्थाका अध्यक्ष, सचिव तथा अन्य पदाधिकारीलाई समेत डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण गरिनेछ। उनीहरूमार्फत प्रत्येक टोलमा डेंगुबाट बच्ने उपाय र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने विषयमा व्यापक सचेतना फैलाउने कार्यक्रम रहेको खनालले जानकारी दिनुभयो।

जनस्वास्थ्य कार्यालय बागलुङले पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेले अण्डा पार्न सक्ने स्थानको खोजी गरी लार्भा नष्ट गर्ने, नियमित सरसफाइ गर्ने, शरीर ढाकिने कपडा लगाउने र घरभित्र लामखुट्टे प्रवेश गर्न नदिने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।