• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

पोखरा, ३० भदौ

पोखरा महानगरपालिकाले भू-उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । महानगरका ३३ वटै वडाको झण्डै सात लाख कित्ताको भू-उपयोग वर्गीकरण गरिएको जनाइएको छ ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम भू-उपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको हो ।

महानगरपालिकाको भू-उपयोग परिषद्को सिफारिस र नगर कार्यपालिकाको निर्णय अनुसार उक्त भू-उपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमासमेत प्रकाशित भइसकेको छ ।

भू–उपयोग वर्गीकरण विवरणका आधारमा प्रचलित कानुन बमोजिम भूमि प्रशासन तथा नापी सम्बन्धी अभिलेख, नक्सा तथा अन्य आवश्यक कामका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई महानगरले पत्राचार गरेको छ ।

सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेख सम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ । भू-उपयोग वर्गीकरणसँगै कित्ताकाट, जग्गाको कारोबारलगायतका काममा नागरिकलाई सहजता थपिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।