• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङमा संविधान संशोधनबारे बहस

बागलुङ, २५ भदौ
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सुशासन, रोजगारी, आर्थिक विकास, संस्थागत सुधार र मूल्य–मान्यताको संरक्षणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ।

मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजना मा बिहीबार बागलुङमा सम्पन्न संविधान संशोधनको आवस्यकता र औचित्यता सम्बन्धी अन्तरसंवाद कार्यक्रम मा कार्यपत्र प्रस्तुत गर्दै उहाँले अब मुलुकलाई राजनीतिक स्वतन्त्रताभन्दा रोजगारमुखी प्रजातन्त्र आवश्यक रहेको धारणा राख्नुभयो।

“हामीले सधैँ प्रजातन्त्र र राजनीतिक स्वतन्त्रताको कुरा गर्‍यौँ। अब देशमै रोजीरोटीको सुनिश्चितता हुने रोजगारात्मक प्रजातन्त्र हाम्रो आवश्यकता हो,” उहाँले भन्नुभयो।

संविधान संशोधनमार्फत रोजगारी, सुशासन र आर्थिक समृद्धिलाई सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उहाँले अब मुलुकले द्वन्द्व र अर्को कुनै क्रान्तिको भार थेग्न नसक्ने बताउनुभयो। शान्तिपूर्ण, विवेकपूर्ण र उदार भावनाका साथ संविधान संशोधन गरी देश निर्माणको आधार तयार गर्नुपर्ने उहाँको भनाइ थियो।

संशोधित संविधानले नागरिकमा राष्ट्रभक्ति र राष्ट्रप्रेमको भावना थप सुदृढ गर्दै देश निर्माणमा सबैलाई एकताबद्ध गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका उपसभापति खिमानन्द पौडेल, नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिका सदस्य गोविन्दप्रसाद कँडेल, नेकपा एमाले बागलुङका सचिव गणेश थापा, नेकपा बागलुङका कार्यालय सचिव टीका विश्वकर्मा र राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भीमलाल पोखरेल, काठेखोला गाउँपालिकाको न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कँडेललगायतले संविधान संशोधनका विषयमा आ–आफ्ना सुझाव तथा धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष अधिवक्ता गीता श्रीषले गर्नुभएको थियो । समाजसेवी डा.कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशका उपन्यायाधिवक्ता गोपालप्रसाद ढकालले स्वागत र सहायक न्यायाधिवक्ता सुजाता पौडेलले संचालन गर्नुभएको थियो ।