बागलुङ, २५ भदौ
६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा बिहीबार बागलुङमा ‘बाल अधिकार संरक्षणमा डिजिटल प्रभाव’ विषयमा जिल्ला माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
एकीकृत सेवा कार्यालय बागलुङ, बागलुङ नगरपालिका र नेपाल बाल संगठन, बागलुङको आयोजनामा सम्पन्न प्रतियोगितामा भैरव मावि, गलकोटका समीर गौतम प्रथम हुनुभयो। यस्तै रिभरहेड इन्टरनेसनल एकेडेमी, लेखानीका प्रसिद्धि कँडेल द्वितीय, चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल, बानपाका अनुसा कँडेल तृतीय तथा प्रभा माध्यमिक विद्यालय, निसीखोलाका केशव चालिसे सान्त्वना हुनुभएको छ ।
विजेता समीर गौतमले रु। १५ हजार ५५५, प्रसिद्धि कँडेललाइ रु. १२ हजार २२२, अनुसा कँडेलले रु. ९ हजार ९९९ र केशव चालिसेले रु.६ हजार ६६६ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल बाल संगठनका केन्द्रीय सदस्य अर्जुन पौडेलले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बालबालिकाको जीवनमा यसको प्रभाव पनि बढ्दै गएको बताउनुभयो। प्रविधिको प्रयोगले अवसर सिर्जना गरे पनि दुरुपयोगले बालअधिकार र बालबालिकाको भविष्यमा दीर्घकालीन असर पार्न सक्ने भएकाले यस विषयमा विद्यालय र अभिभावक सचेत हुनुपर्ने उहाँको भनाईथियो ।
नेपाल बाल संगठन बागलुङका अध्यक्ष तारा शर्माले विद्यार्थीको प्रतिभा पहिचानका लागि बाल दिवसको अवसर पारेर कार्यक्रम संचालन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा संगठनलाई सबै पालिकामा विस्तार गर्ने, विद्यार्थी पहिचान कार्यक्रम सञ्चालन गर्ने तथा विद्यार्थीका लागि स्वच्छ खानेपानी वितरण अभियान अघि बढाइने जानकारी दिनुभयो ।
कार्यक्रममा आठ ओटा पालिका बाट १७ जना विद्यार्थिहरुको सहभागिता रहेको थियो । जिल्लाका १० वटै स्थानीय तहलाई समेट्ने गरी प्रतियोगिता आयोजना गरिए पनि ताराखोला र तमानखोला गाउँपालिका बाट सहभागिता नरहेको संगठनका सदस्य गणेश लम्साले बताउनुभयो ।
दिवसको अवसर पारेर बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विशेष बाल कक्षाका २५ जना विद्यार्थीलाई विद्यालय पोसाक समेत वितरण गरिएको छ।
संगठनका अध्यक्ष तारा शर्माको अध्यक्षता, एकीकृत सेवा कार्यालयका पारसिंह थापाको स्वागत तथा चूडामणि उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।