बागलुङ, २१ भदौ
गलकोट नगरपालिका–७ सिर्जनशील आमा समूहका सदस्यहरू यतिबेला अकबरे खुर्सानी टिप्न व्यस्त छन्। वैशाख महिनामा रोपिएको अकबरेबाट पहिलो लटको उत्पादन टिप्न सुरु गरेको सिर्जनशील आमा समूहका अध्यक्ष सरस्वती थापाले बताउनुभयो।
नगरपालिकाकोअकबरे सुर्खानी पकेट क्षेत्र कार्यक्रम अन्र्तगत मल्म बहुउदेश्यीय सहकारी सस्था मार्फत कार्यक्रम ल्याई आमासमूहमार्फत अकबरे खुर्सानी खेती सुरु गरेको थापाले बताउनुभयो।
वैशाख महिनाको अन्त्यतिर आगाखेत र साहानीडाँडामा रहेको २० रोपनी जग्गामा सिर्जनशिल आमासमूह र मिलिजुलि आमासमूहले ३२ हजार अकबरेका खुर्सानी बिरुवा रोपेको थियो। समूहले अहिले पहिलो लटका ६ क्विन्टलभन्दा बढी खुर्सानी टिपिसकेको छ भने अझै टिप्न बाँकी छ।
सुरुमा खेती गर्दा दुःखसँगै डर पनि थियो। उत्पादन कस्तो हुने हो रु लगानी पो डुब्छ कि रु मौसमले साथ देला कि नदेलारु यस्ता थुप्रै प्रश्नका बीच हामीले खेती सुरु गर्यौँ। अहिले उत्पादन सुरु भएपछि हामी धेरै उत्साहित छौँ, उत्पादन पनि धेरै राम्रो भएको छ,” अध्यक्ष थापाले भन्नुभयो।
समूहले प्रतिकिलो ३०० रुपैयाँसम्ममा अकबरे खुर्सानी बिक्री गरिरहेको छ। स्थानीय हटिया बजार र आसपासका गाउँमा अकबरे बिक्री भइरहेको थापाले बताउनुभयो।
पालिकामार्फत मेसिनरी सामानमा ५० प्रतिशत तथा बिरुवा र मलमा ८० प्रतिशत अनुदान पाएको समूहले जम्मा करिब ८ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। दुई वटा मिनी टिलर ट्र्याक्टर, २२ रोल मल्चिङ प्लास्टिक, स्प्रे, सिँचाइका लागि हिल ट्याङ्की, कम्पोस्ट मल र बिरुवामा लगानी गरिएको अध्यक्ष थापाले बताउनुभयो।
समूहका सदस्यमध्ये इच्छुक १२–१५ जना सदस्य अकबरे खेतीमा सहभागी भएका छन्। बिरुवा रोप्ने, गोडमेल गर्ने, मल हाल्नेदेखि खुर्सानी टिप्नेसम्मका सबै काम समूहका सदस्यहरूले मिलेर गरेका छन्। अकबरे बिक्रीबाट भएको आम्दानी फेरि खेतीमै लगानी गर्ने र अकबरे खुर्सानीको पकेट क्षेत्र बनाउने योजना रहेको थापाले बताउनुभयो।
नगर आर्थिक समितिका संयोजक तथा गलकोट नगरपालिका –७ का वडाध्यक्ष राजबहादुर थापाका अनुसार, अकबरे खुर्सानी पकेट क्षेत्र कार्यक्रमका लागि गत आर्थिक वर्षमा आठ लाख रुपैयाँ बजेट विनियोजन गरी मल्म बहुउदेश्यीय सहकारीमार्फत दुईवटा आमा समूहबाट खेती सुरु गरिएको थियो । कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न चालु आर्थिक वर्षमा पनि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
अकबरे खुर्सानीको उत्पादन सफल भएपछि अहिले कतिपय मानिसहरू खेती हेर्न र निरीक्षणकालागि आउने गरेका छन्। बिरुवा रोप्ने बेला सामान्य तालिम पाएका समूहका सदस्यहरुको स्थानीय तहबाट थप तालिम र बजार व्यवस्थापनको अपेक्षा छ ।