बागलुङ, २२ भदौ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकम ले आफ्नो सातौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गर्दै त्यसका लागि छुट्याइएको रकम भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ।
वार्षिकोत्सवका लागि छुट्याइएको खर्च तथा संस्थाका सञ्चालक र कर्मचारीबाट संकलित रु. १ लाख १ हजार बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी हस्तान्तरण गरिएको हो।
संस्थाका सल्लाहकार डिलबहादुर कार्की, रुद्रमहत र सुरेशप्रसाद श्रेष्ठ, सचिव सरस्वती खड्का परियार, सञ्चालक अम्बिका जिसी, प्रबन्धक दीपकराज सापकोटा तथा धौलागिरि जागरण दैनिकका सम्पादक सिर्जना पन्तले प्रमुख जिल्ला अधिकारी आचार्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो।
रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले विपद्का बेला सञ्चार क्षेत्रबाट समेत सहयोग जुट्नु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो।
साविक धौलागिरि अञ्चलमा सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने पहिलो प्रयासका रूपमा स्थापित आदर्श सञ्चार सहकारीले सञ्चालन गरेको तेस्रो सञ्चारमाध्यमका रूपमा आदर्श सञ्चार डटकम सात वर्षअघि सुरु भएको हो।