पोखरा, २० भदौ
आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र
फ्लाई दुबईबीच सहकार्य अघि बढेको छ ।
पोखरा–दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपालस्थित जनरल सेल्स एजेन्टका तर्फबाट युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
महानगरपालिका र फ्लाई दुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पर्यटन प्रवर्द्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी गरेका हुन् ।
यस उडान पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । समझदारीअनुसार पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचार–प्रसारका स्थानहरूमा १५ दिनसम्म निःशुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत पोखरा–दुबई उडानको प्रवर्द्धनमा सहयोग गर्नेछ ।
फ्लाई दुबईले प्रचार सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने जिम्मेवारी लिएको छ । पोखरा–दुबई नियमित हवाई उडानले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग थप सहज रूपमा जोड्ने महानगर प्रमुख आचार्यको भनाइ छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न महानगरले पहल सुरू गरेको उहाँको भनाइ छ । पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले पनि चासो र अग्रसरता देखाएका छन् । हालै नेपालका लागि संयुक्त अरब इमिरेटन्स९युएई० का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका थिए ।
पोखरा–दुबई उडानको निरन्तरता र दिगोपनाका विषयमा छलफल गरिएको थियो । केही समयअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामा सोही विषयमा छलफल भएको थियो । सो अवसरमा पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो ।
यो उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो ।
यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ ।
पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो । पोखरा–दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् ।
वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।