बागलुङ, १९ भदौ
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले नगद सहयोग गरेको छ। समितिले बिहीबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भेटेर ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सो रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको हो। बागलुङ क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य ९सांसद० सुशील खड्काको विशेष उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो।
उक्त सहयोग रकम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्का र सचिव निसान खड्काले संयुक्त रूपमा अर्थमन्त्री वाग्लेलाई बुझाउनुभएको हो।
चेक ग्रहण गर्दै अर्थमन्त्री डा.वाग्लेले संकटको घडीमा बागलुङ कालिका गुठीले देखाएको मानवीय संवेदनशीलता र सहयोगको सराहना गर्नुभयो।
उहाँले उक्त रकम बाढीपीडितहरूको आवश्यकताका आधारमा पारदर्शी ढङ्गले राहत तथा पुनःस्थापनामा उपयोग गरिने प्रतिबद्धता जनाउनुभयो।
धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको बागलुङ कालिका भगवती गुठीले यसअघि पनि विभिन्न दैवी प्रकोप र संकटका समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको समितिले जनाएको छ।