• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

तीज कार्यक्रम धमाधम स्थगित : बाढी प्रभावितलाई सहयोग

 

पोखरा, १८ भदौ

रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक नै शोकमा रहेका कारण नजिकै आएको तीज पर्वको खासै रौनक देखिएको छैन । तीजलाई लक्ष्य गरी आयोजित मेला–महोत्सव पनि धमाधम स्थगित भइरहेका छन् । ती कार्यक्रममा हुने खर्च जोगाएर आयोजकहरुले बाढी प्रभावितहरुका लागि राहत सहयोग प्रदान गरिरहेका छन् । गाउँटोल र समूहमा हुने स–साना दरखाने कार्यक्रमलाई पनि रोकेर महिलाहरु विपद्मा सहयोगको हात फैलाइरहेका छन् ।

पोखरा, लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले २८औँ संस्करणको लामाचौर तीज महोत्सव–२०८३ तथा लामाचौर कप खुला पुरुष र अन्त माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता स्थगित गरी प्रधामन्त्री दैवी प्रकोष उद्धार कोषमा रु। एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बाढीको घटनाबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तीज महोत्सवमा हुने खर्चबापतको रकम बाढी प्रभावितलाई राहत स्वरुप प्रदान गरिएको समाजले जनाएको छ ।

पोखरामा महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०ले तीज कार्यक्रम स्थगित गरी प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। एक लाख २१ हजार एक सय एक जम्मा गरेको मञ्चकाअध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो । महिला पर्यटन व्यवसायीहरुले सामूहिक दरखाने कार्यक्रमका लागि छुट्टाएको रकम बाढी प्रभावितको राहतमा खर्च गरेका हुन् । विनाशकारी बाढीले मुलुक नै आक्रान्त भएका बेला खर्चिला र मनोरञ्जनात्मक कार्यक्रम नगरी विपद्मा हातेमालो गर्ने सङ्घसंस्थाहरु उल्लेख्य छन् ।

प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु। एक लाख बाढी प्रभावितको राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो । “देश नै शोकमा डुबेका बेला तीज कार्यक्रम गर्नु उचित नहुने देखेपछि स्थगित ग¥यौँ”, उहाँले भन्नुभयो, “कार्यक्रमका लागि सङ्कलन भएको रकमबाट बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका हौँ ।”

गलकोट समाज, पोखराले पनि तीजको दरखाने र साँस्कृतिक कार्यक्रम स्थगित गरेर त्यसमा हुने खर्चबापतको रु। दुई लाख ७५ हजार पाँच सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । गुठी युवा क्लब, बागलुङले पनि तीज मेला स्थगित गरी बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यसरी नै स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ ।

सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाटसमेत बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पेशाकर्मी, कलाकारलगायत एकल र सामूहिक रुपमा राहत सहयोग अभियानमा जोडिएका छन् ।