बागलुङ, १७ भदौ।
गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड, बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरू सक्रिय हुनुपर्ने बताउनुभयो।
उहाँले केही सहकारीमा समस्या देखिँदैमा सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो। शेयर सदस्यहरू सक्रिय रहेर समय–समयमा सहकारीको अवस्थाबारे जानकारी लिने र आवश्यक प्रश्न तथा सुझाव दिने गरे सहकारी अझ सुदृढ बन्ने उहाँको भनाइ थियो।
उद्घाटन सत्रमा काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिमबहादुर कार्की, जिल्ला सहकारी संघ शिक्षा उपशाखाका सदस्य मुकुन्द शर्मा पौडेल, गुहेंली सञ्चार सहकारीका सल्लाहकार चन्द्रमणि उपाध्याय तथा ढोरपाटनन्यूज डटकम अनलाइनका सम्पादक रञ्जिता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभाले सहकारीका सचिव सूर्यबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
गत आर्थिक वर्ष २०८२र८३ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट बाल बचतकर्तालाई सहकारीले सम्मान गरेको छ। त्यसैगरी, सहकारीमा स्थापना गरिएको कलागौरी स्मृति कोष बाट प्रदान गरिने २०८२ सालको पत्रकारिता पुरस्कार ढोरपाटनन्यूज डटकम अनलाइनका सम्पादक रञ्जिता शर्मालाई प्रदान गरिएको छ।
सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गर्नुभएको उक्त कोषबाट हरेक वर्ष संस्थाका शेयर सदस्यमध्ये एक जना पत्रकार र एक जना ज्येष्ठ शेयर सदस्यलाई पुरस्कृत गरिँदै आएको छ।
वि।सं। २०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा ३४ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीमा हाल ८ सय ८७ जना शेयर सदस्य आबद्ध रहेका छन्।
