पोखरा, १६ भदौ
रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शव मङ्गलबार पोखरा महानगरपालिका–१६, लामाचौरको वनक्षेत्रमा जमिनुमुनि व्यवस्थापन गरिएको छ । शव पहिचान तथा परीक्षणका लागि विभिन्न जिल्लाबाट ल्याइएका एक सय दुई शवमध्ये ७८ शवलाई कानुनी प्रकृया पूरा गरी सुरक्षित रुपमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
“१९ शव पहिचान गरी आफन्तलाई बुझाइएका छ, पाँच शव आफन्तले दाबी गरेका कारण पहिचानका लागि केही दिन अस्पतालकै शवगृहमा राखिनेछ”, उहाँले भन्नुभयो, “७८ शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको मादपण्ड र पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार व्यवस्थान गरिएको छ ।” अस्पतालमा बाँकी रहेका पाँच शवमध्ये दुई शव विदेशी नागरिकको भएका आशङ्का गरिएको उहाँले बताउनुभयो ।
सबै सबको परीक्षण तथा डीएनए नुमना सङ्कलन गरीसकेपछि व्यवस्थापनको काम सुरु गरिएको प्रहरी उपरीक्षक कार्कीको भनाइ छ । शवबाट सङ्कलन गरिएको डीएनएको नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइने उहाँले बताउनुभयो । डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।
नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट ल्याइएका शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको थियो । एक हप्तामा जम्मा १९ वटा शव मात्र पहिचान भई आफन्तलाई बुझाइएको हो । अन्य शव सड्न थालेसँगै स्वास्थ्य महामारीको जोखिम बढ्न सक्ने विज्ञहरुको सुझाव अनुसार सबै कानुनी र वैज्ञानिक प्रकृया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिएको हो ।
बाढीले बगाएर शव विभिन्न जिल्लामा पु¥याएका कारण शव पहिचान नै जटिल बनेको थियो । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा थिए । त्रिशुली र नारायणी नदी किनारमा भेटिएका एक सय दुई शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको थियो ।
