बागलुङ, १५ भदौ
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ ले रु. १ लाख ४५ हजार १ सय सहयोग गरेको छ।
संघले सोमबार व्यवसायीहरूबाट संकलित उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा हस्तान्तरण गरेको हो।
रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले विपद्को समयमा निजी क्षेत्रले पीडितको घाउमा मलम लगाउने काम गर्दै सरकारलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो।
बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका उपाध्यक्ष ललिता थापा ले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिने सामाजिक उत्तरदायित्वअनुसार सदस्य व्यवसायीहरूबाट रकम संकलन गरी सहयोग गरिएको बताउनुभयो। उहाँले यस्ता मानवीय सहयोगले विपद् प्रभावित नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
