बागलुङ, १४ भदौ
बागलुङका दुई युवा संस्थाले हरितालिका तिजका अवसरमा आयोजना गर्न लागेका कार्यक्रम स्थगित गर्दै संकलित रकम बाढी प्रभावितको राहतमा सहयोग गर्ने निर्णय गरेका छन्।
प्रबुद्ध युवा समूह बागलुङले आयोजना गर्न लागेको “गण्डकी प्रदेश स्तरीय दोस्रो अन्तरविद्यालय तिज नृत्य प्रतियोगिता–२०८३” रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि स्थगित गरिएको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो।
कार्यक्रम व्यवस्थापनका लागि संकलित रकममध्ये रु. ८५ हजार बाढी प्रभावितको राहतका लागि उपलब्ध गराइने अध्यक्ष सुनारले बताउनुभयो। प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायमार्फत विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको उहाँको भनाइ छ।
यस्तै, गुठी युवा क्लब बागलुङ ले आयोजना गर्न लागेको तिज मेला–२०८३ पनि स्थगित गरेको छ। क्लबले जारी गरेको विज्ञप्तिमा देश प्राकृतिक विपत्तिको गम्भीर अवस्थाबाट गुज्रिरहेका बेला मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्नु पीडित परिवारप्रति असंवेदनशील हुने उल्लेख गरिएको छ।
क्लबका अध्यक्ष सुवास रुचालका अनुसार तिज मेलाका लागि संकलित रकम बाढी प्रभावितको राहत तथा सहयोगमा खर्च गरिनेछ।
