पोखरा,१२ भदौ
शुक्रबार रक्षाबन्धन पर्व । हिन्दु संस्कारमा आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित दिदीबहिनीले राखी बाँधिदिने दिन । गोरखाकी सीता कार्कीले भने दाइ रामशरणलाई यसपालि राखी बाँधिदिन पाउनुभएन । न त रामशरणले बैनीलाई उपहार र रक्षावचन नै दिन सक्नुभयो । दाजुभाइ–दिदीबहिनीबीचको अटुट प्रेम र स्नेहको प्रतिकका रुपमा लिइने यस पर्व सीता र रामशरणका लागि भने दुःखान्त बनेर आइपुग्यो ।
शुक्रबार अपरान्हपख मलिन अनुहार लिएर सीता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको छिँडीमा बसिरहनुभएकी थियो । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा बेपत्ता दाइको खोजी र पहिचानका लागि उहाँ पोखरा आइपुग्नुभएको हो । बाढीले बगाएर धादिङ, गोरखा, नवलपुर र तनुहँ जिल्ला ल्याइपु¥याएका एक सय दुई शव पहिचान र परीक्षणका लागि गएराति पोखरा ल्याइएको थियो ।
तीनदेखि बाढीमा हराइरहनुभएका दाइको खोजीका क्रममा आफू पोखरा आएको कार्कीले बताउनुभयो । “दाइको खोजीका लागि कोही काठमाडौँ जानुभएको छ, कोही चितवन, म पनि दाइको अवस्था पत्ता लाग्छ कि भनेर पोखरा आएकी हुँ”, उहाँले भन्नुभयो, “रसुवाको मैलुङबाट दाइ बेपत्ता हुनुभएको हो, बुधबार बिहानसम्म उहाँसम्म कुरा भएको थियो, त्यसपछि बेखर हुनुहुन्छ ।”
गोरखाको आरुघाट गाउँपालिका–१० मङ्गलटारका ३८ वर्षीय रामशरण बेपत्ता हुनुभन्दा तीन दिनअघि मात्र घरमा आएर फर्कनुभएको थियो । रसुवागढी नाकामा कोरियन कम्पनीले निर्माण गरेको जलविद्युत् आयोजना कार्यालयमा उहाँ चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो । “कोरियन कम्पनीका सरहरु लिएर आयोजनास्थलमा जाने क्रममा बाढीमा परी दाइ बेपत्ता हुनुभएको हो”, सीताले भन्नुभयो, “अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न नसक्दा परिवार पीडामा छौँ, जतिसक्दो छिटो खोजी होस् ।”
कतै दाइको पहिचान हुन्छ कि भनेर सीताले अस्पतालको फरेन्सिक मेडिसिन विभागमा राखिएका शवका तस्बिर हेर्नुभएको थियो । शुक्रबार अपरान्हसम्म दाइको अवस्थाबारे केही पत्ता नलागेको उहाँले बताउनुभयो । बाढीले शव बगाएर विभिन्न जिल्लामा पु¥याएका कारण आफन्तहरुलाई शव पहिचान गर्न कठिनाई भइरहेको छ । पहिचान गर्न सजिलो होस् भनेर बेपत्ता भएकाका आफन्तलाई शवको तस्बिर स्क्रिनमा हेर्ने व्यवस्था मिलाइएको छ ।
सीताझै बेपत्ताजनका अन्य आफन्त पनि अस्पताल पुगेर शव पहिचान गर्ने प्रयासमा छन् । विदेशी पर्यटक टोलीसँग गोसाइँकुण्ड जाने क्रममा बेपत्ता हुनुभएका भक्तपुरका चिकित्सक आयुष अधिकारीको खोजी र पहिचानका लागि उहाँका आफन्त मातृका ढुङ्गाना आयुषको तस्बिर हातमा लिएर अस्पताल पुग्नुभएको थियो । “आयुष मेरो साला बाबु हुनुहुन्छ, ग्राण्डी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “पर्यटकको टोलीसँगै उहाँ रसुवागढीबाट बाढीमा बेपत्ता हुनुभएको छ ।”
उहाँले अस्पतालमा राखिएका अधिकांश शव चिन्नै नसकिने अवस्थामा रहेको बताउनुभयो । शव पोखरा ल्याएको थाहा पाएपछि विभिन्न जिल्लाबाट आफन्तहरु शव पहिचानका लागि पोखरा आइपुगेका छन् । धादिङको निलकण्ठ नगरपालिका–९ धारापानी गाउँका २८ जना बाढीमा बेपत्ता भएपछि उनीहरुका आफन्त पनि यतिबेला पोखरा आइपुगेका छन् । स्थानीय बलराम लम्सालले गोसाइँकुण्डको तीर्थयात्रामा जाँदा बसमा यात्रारत सबै बाढीमा बेपत्ता भएको बताउनुभयो ।
“एउटै घरका सात जनासम्म बेपत्ता हुनुभएको छ, सिङ्गो गाउँ नै यतिबेला शोकमा छ”, उहाँले भन्नुभयो, “धादिङमा भेटिएका शव पोखरा ल्याएको थाहा पाएपछि हामी खोजीका लागि यहाँ आएका हौँ ।” सदरमुकाम धादिङवेशीबाट तीर्थयात्रु लिएर गएको बस नुवाकोटको बेत्रावतीबाट बेपत्ता भएको थियो । माथिबाट बाढी आएपछि उक्त बसमा सवार तीर्थयात्रु बसबाट ओर्लेर नजिकको घरसम्म पुगेको जानकारी आएपनि त्यसपछि सम्पर्कविहीन भएको लम्सालले बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३ र मणिपाल शिक्षण अस्पतालमा नौ वटा शव राखिएको छ । शवको पहिचान तथा परीक्षणको काम भइरहेको उहाँले बताउनुभयो । शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ ।
पहिचान हुन नसकेका शवको डिनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने प्रजिअ गुरुङले बताउनुभयो । पहिचान हुन नसकी बेवारिसे बनेका शवलाई बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गरिने जनाइएको छ । शवको संख्या धेरै भएको र अधिकांश शव चिन्नै नसकिने अवस्थामा रहेकाले व्यवस्थापनमा अझै केही दिन लाग्न सक्ने जनाइएको छ ।
त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको हो ।
