बागलुङ, १२ भदौ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा बागलुङ जिल्लाका १६ जना सम्पर्कविहीन भएका छन्। रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा प्रभावित क्षेत्रमा पुगेका नागरिकहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा तमानखोला गाउँपालिका–४ का लाता कामी र भीमबहादुर सिर्पाली, बागलुङ नगरपालिका–९ का प्रमिला पाठक, राजेश शर्मा पौडेल, आदित्य शर्मा पौडेल र आदिति शर्मा पौडेल रहेका छन्।
त्यस्तै तमानखोला गाउँपालिका–३ का सञ्जय नेपाली र दलप्रसाद बुढा, तमानखोला–२ का खड्कबहादुर छन्त्याल र भीमबहादुर छन्त्याल, तमानखोला–१ का पदमबहादुर घर्ती, इन्द्रबहादुर विक र विष्णु घर्ती मगर पनि सम्पर्कविहीन छन्। यसैगरी ढोरपाटन नगरपालिका–९ का तुलबहादुर सुनार, ढोरपाटन–४ का बिजेन्द्र घर्ती तथा गलकोट नगरपालिका–२ का रमेश सुनार पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण स्थानीय जनप्रतिनिधि र परिवारजनले फोनमार्फत उपलब्ध गराएको जानकारीका आधारमा संकलन गरिएको हो।
