पोखरा, १२ भदौ
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा पुनस्स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रू। चार करोड सहयोग गरेको छ । शुक्रबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त सहयोग रकम जम्मा गर्ने निर्णय भएको जनाउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो ।
‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दछु’, मुख्यमन्त्रीद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।
अहिलेको कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ ।