• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

आज जनैपूर्णिमा पर्व मनाइँदै

बागलुङ, १२ भदौ
आज श्रावण शुक्ल पूर्णिमाको दिन देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरू गरिन्छ ।

आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज गरी सप्तऋषिहरूको स्तुति गर्दै तर्पण दिने परम्परा छ ।

गुरु पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन (डोरो)बाँध्ने गरिन्छ । भविष्यपुराणका अनुसार, देवगुरु वृहस्पतिले अत्यन्त बलशाली दानवराज बलिलाई बाँधेर देवगणहरूको रक्षा गरेको स्मरणमा यो डोरो बाँध्ने प्रचलन सुरु भएको हो ।

आजकै दिन विषेश गरेर भारत र नेपालको तराईमा क्षेत्रमा प्रचलित (राखी ) बाँध्ने परम्परा पछिल्ला केहि वर्ष यता नेपाल भरि नै विस्तार भैरहेको छ । आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिई रक्षाको वचन दिने गर्दछन् । यसले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।