बागलुङ, ११ भदौ
बागलुङ नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढीपीडितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बागलुङ नगरपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
बाढीमा बेपत्ता भएका नागरिकको शीघ्र खोज तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नदी तथा खोला किनारमा बसोबास गर्ने र यात्रा गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन पनि नगरपालिकाले आग्रह गरेको छ।