बागलुङ, ११ भदौ
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि बागलुङको जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।
जैमिनी नगरपालिकाको विपद व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट बग्ने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले पुर्याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
यस्तै ताराखोला गाउँपालिकाले प्रभावित जिल्लाको विपद् कोषमा रु. एक–एक लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल रिजालका अनुसार बुधबार बसेको कार्यपालिको् बैठकले रसुवाको भोटेकोशी नदिमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठुलो मानवीय र भौतिक क्षति पुर्याएको भन्दै एक –एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।
यसैविच काठेखोला गाउँपालिकाले पनि बाढी प्रभावितको राहत तथा पुनः स्थापनाका लागि रू. दुई लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान आएको भीषण बाढीले मानवीय तथा भौतिक क्षति पुर्याएपछि उद्धार तथा राहतका लागि सहयोग रकम जुट्न थालेको छ ।