• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङमा पुस्तकालय दिवस मनाइने

बागलुङ, १० भदौ
विद्यामन्दिर पुस्तकालय बागलुङले १९औँ अन्तर्राष्ट्रिय पुस्तकालय दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाउने भएको छ।

‘बाल, युवा र वृद्ध ः पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको पुस्तकालयले बुधबार पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिएको हो।

पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माका अनुसार भदौ ११ गते बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिनेछ। त्यसैगरी भदौ १४ गते पुस्तकालय परिसर सरसफाइ तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

दिवसको मुख्य कार्यक्रम भदौ १५ गते आयोजना हुनेछ। सो अवसरमा बागलुङ नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा मूल समारोह कार्यक्रम गरी दिवसको समापन गरिने पुस्तकालयले जनाएको छ।

पत्रकार भेटघाट कार्यक्रममा दिवसका सबै कार्यक्रम समुदायमा पुस्तकालयप्रतिको आकर्षण बढाउने र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिइएको थियो।

पत्रकार भेटघाट कार्यक्रम विद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता तथा समितिका सदस्य गोपाल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो।