• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

पोखरा–जोमसोम हवाई उडान पुन: सुरु

पोखरा, ८ भदौ

वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान सेवा आजदेखि सुरु भएको छ । आज समिट एयरको जहाजले तीनवटा उडान गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचन अधिकारी विनोदसिँह रावतले जानकारी दिनुभयो ।

“प्रतिकुल मौसमका कारण झण्डै तीन महिना बन्द भएको पोखरा–जोमसोम हवाई उडान सेवा पुनः सुरु भएको छ”, उहाँले भन्नुभयो, “अब उडान नियमित हुन्छ ।” ‘भिजिबिलिटी’ कम हुने भएपछि हरेक वर्षायाममा पोखरा–जोमसोम उडान बन्द हुने गरेको छ । पर्यटकीय याम पनि सुरु हुन लागेकाले उक्त उडान सेवाले मुस्ताङको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने जनाइएको छ ।

पोखरा–जोमसोम हवाई मार्गमा विभिन्न वायुसेवा कम्पनीले ट्विनटर विमानमार्फ उडान सेवा सञ्चालन गर्दै आएका छन् । दिउँसोको समयमा जोमसोम विमानस्थलमा बढी हावाहुरी चल्ने भएकाले अधिकांश बिहानको समयमा मात्र उडान हुँदै आएको सूचना अधिकारी रावतले बताउनुभयो ।