पोखरा ३ भदौ
भारतका स्थल सेनाध्यक्ष जनरल धीरज शेठले नेपाल–भारत सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताउनुभएको छ । पोखरास्थित भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्दै उहाँले सैनिक सम्बन्ध दुई देशबीचको सदियौँ पुरानो सम्बन्धको एक महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
“आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकहरुको विश्वमै छुट्टै पहिचान बनेको छ”, सेनाध्यक्ष सेठले भन्नुभयो, “भारतीय सेनासँग गोर्खाली फौजको गौरवमय सम्बन्ध र इतिहास छ, हरेक चुनौतीमा गोर्खाली सैनिकहरु अद्भूत साहस र कर्तव्यनिष्ठता प्रदर्शन गर्दै आएका छन् । भारतीय सेनामा गौर्खाली सैनिकहरुले देखाएको वीरता, त्याग र योगदान अविष्मरणीय रहेको उहाँको भनाइ थियो ।
सेनाध्यक्ष सेठले नेपाल–भारत सम्बन्ध केवल दुई छिमेकी देशका रुपमा मात्र नभई परम्परा, संस्कृति, धर्म र आस्थासँग गहिरोसँग जोडिएको बताउनुभयो । खुला सीमाका कारण पनि दुई देशका नागरिकबीचको सम्बन्ध अझ नजिक र सहज बनेको उहाँको भनाइ थियो । उहाँले पोखरासहित नेपालका विभिन्न अस्पतालमा सञ्चालित भूतपूर्व सैनिकको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रमलाई थप विस्तार गरिने बताउनुभयो ।
सेनाध्यक्ष सेठले भूतपूर्व सैनिक र उनीहरुका आश्रित परिवारका लागि लक्षित गरी बाँकेको कोहलपुरमा स्थापना गरिएको पोलिक्लिनिकको भर्चुअल आध्यमबाट शुभारम्भ गर्नुभएको थियो । विभिन्न जिल्लामा रहेका सैनिक बोर्ड कार्यालयमार्फत सञ्चालन हुँदै आएको सीपमूलक र व्यावसायिक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।
भारतीय सेना आफ्नै सीप, प्रविधि र उपकरणका माध्यमबाट जस्तोसुकै चुनौतीलाई सामाना गर्न सक्ने गरी आत्मनिर्भर बनाइने उहाँको भनाइ थियो । उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक र उनीहरुका परिवारको हित तथा कल्याणलाई भारतीय सेनाले सँधै प्राथमिकता राख्दै आएको बताउनुभयो ।
“तपाईँहरु एक्लो हुनुहुन्न, तपाईँहरुको साथमा सँधै भारतीय सेना छ, तपाईँहरुलाई आवश्यक पर्ने कुनैपनि सहयोगको कमी हुन दिइनेछैन”, उहाँले भन्नुभयो । सेनाध्यक्ष सेठले जीवनको अमूल्य समय भारतको सेवामा समर्पित गरेकामा उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकको प्रशंसा गर्नुभयो । भूतपूर्व सैनिकको हित, कल्याण र सुविधाका पूर्ण निष्ठा र समर्पणका साथ आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा सेवामा रहँदा विभिन्न पदक पाएका भूतपूर्व सैनिक र युद्धमा जीवन गुमाएका सहिद परिवारका सदस्यलाई सम्मान गरिएको थियो । घाइते भूतपूर्व सैनिकलाई अपाङ्गतामैत्री स्कुटर प्रदान गरिएको थियो । सेनाध्यक्ष सेठले भेलामा सहभागी भूतपूर्व सैनिक र उनीहरुका परिवारसँग भेट गरी गुनासा र समस्या बुझ्नुभएको थियो ।