बागलुङ, २ भदौ
शैक्षिक गुणस्तरसँगै विद्यार्थीको मनोसामाजिक समस्यामा पनि ध्यान दिनुपर्नेमा धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन्।
क्याम्पसको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ अन्तर्क्रिया कार्यक्रममा अभिभावक तथा सहभागीहरूले विद्यार्थीहरूलाई अध्ययनका क्रममा विभिन्न मनोसामाजिक समस्या हुन सक्ने भन्दै समस्या पहिचान गरि समयमै उचित परामर्श दिनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा अभिभावक नारायण आचार्यले पछिल्लो समय विद्यार्थीको मनोसामाजिक समस्याका कारण समाजमा अप्रिय घटनाहरु घटिरहेको भन्दै विद्यार्थीको रुचि, क्षमता र आवश्यकता पहिचान गरी उचित मार्गदर्शन गर्न सके उनीहरूको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।
अभिभावकले विद्यार्थीलाई उनिहरुको क्षमता पहिचानका लागि अतिरिक्त क्रियाकलाप गर्नुपर्ने भन्दै गुणस्तरीय व्यवहारिक शिक्षामा जोड दिएका थिए । सहभागीहरूले अभिभावक, शिक्षक तथा विद्यार्थीका बीचमा अन्र्तक्रियात्मक कार्यक्रम नियमित रुपमा संचालन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा.सुदर्शन सिलवालले क्याम्पसको वर्तमान अवस्था तथा भावी कार्ययोजनासम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले क्याम्पसमा पछिल्ला वर्षहरुमा विद्यार्थी भर्नाको क्रम बढे पनि देशको वर्तमान अवस्था र बढ्दो वैदेशिक पलायनका कारण माथिल्लो तहमा विद्यार्थी संख्या घट्ने तथा विचमै पढाइ रोक्ने समस्या सिर्जना भएको बताउनुभयो ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले अभिभावकबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०१९ साल भदौ २ गते तत्कालीन शिक्षाप्रेमी, प्रशासक, बुद्धिजीवी तथा अभिभावकको सक्रियतामा धवलागिरि महेन्द्र इन्टर कलेजका रूपमा क्याम्पस स्थापना भएको थियो । स्थापना दिवसकै अवसरमा क्याम्पसले अभिभावकका भावना, सुझाव र विचार ग्रहण गर्ने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा अभिभावक नारायण आचार्य, आशा राजभण्डारी भारी ,बाबुराम केसी सुभास पौडेल दिपक सापकोटा, धवलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आश्मिन शेख, सदस्य विरोश क्षेत्री र गुणस्तर नियन्त्रण स्नातकका अध्यक्ष स्मृति शर्मा लगायतले बोलेका थिए ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमले सञ्चालन गर्नुभएको थियो ।