पोखरा, २ भदौ
पोखरा भ्रमणमा आएका बङ्गलादेशका फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा वृक्षारोपण गरेका छन् । दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आपँलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । यसबाट फोटो पत्रकारहरुबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा गरिएको वृक्षारोपणमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारहरुको सहभागिता रहेको थियो ।
समूहका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारहरुबीच २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई वृक्षारोपण जस्ता सिर्जनशील कार्यले थप स्मरणीय बनाउने बताउनुभयो । वृक्षारोपणले पोखरा रङ्गशालालाई वातावरणमैत्री बनाउनुका साथै दुई देशबीचको सहकार्य र मित्रताको सन्देश प्रवाह गर्ने उहाँको भनाइ छ ।
अध्यक्ष मोहसिनको नेतृत्वमा आएको बङ्गलादेशी फोटो पत्रकारको टोलीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता पनि गरेका थिए । भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा छलफल भएको थियो ।
प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवद्र्धनकका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता एवं साहसिक पर्यटन गतिविधिको प्रचारप्रसार गरिदिन आग्रह गर्नुभएको थियो ।
बङ्गलादेशी फोटो पत्रकारले पोखराको प्राकृतिक सौन्दर्य र वातावरणले आफूहरूलाई आकर्षित गरेको बताएका थिए । १२ सदस्यीय टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिन, महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए.बी.एम. रफिकुर रहमानलगायत रहेका छन् ।
भेटमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापालगायतको सहभागिता रहेको थियो ।
