• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

खोजीनितीका सम्पादक पौडेलसहित छ पत्रकार पुरस्कृत

बागलुङ, १ भदौ

खोजीनिती अनलाइनका सम्पादक उषा पौडेल ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । सोमबार बागलुङमा आयोजित ढोरपाटन राष्ट्रिय दैनिकको २४औँ वार्षिकोत्सव समारोहमा पौडेलसहित पत्रकार मुकेशचन्द्र राजभण्डारी, किरण आचार्य, कोपिला कँडेल, रञ्जिता शर्मा र सिर्जना पन्त उक्त पुरस्कारबाट सम्मानित हुनुभएका हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, पुरस्कार कोषका तर्फबाट सहदेव राजभण्डारीलगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशि रु. दस हजार एक सय ११ रहेको छ । ढोरपाटन दैनिकका पूर्वअध्यक्ष कृष्णमाया अधिकारीले आफ्ना दिवङ्गा आमाबुबाको नाममा उक्त पुरस्कार स्थापना गर्नुभएको थियो ।

विसं २०७६ देखि २०८१ सम्मको पुुरस्कार एकै समारोहमा प्रदान गरिएको पत्रिकाका प्रधानसम्पादक हरिनारायण गौतमले जानकारी दिनुभयो । सोही अवसरमा ढोरपाटन दैनिकको उत्कृष्ट सम्वाददाताका रुपमा अनिष पाठक र उत्कृष्ट कर्मचारीका रुपमा नलबहादुर थापा मगर नगद रु. १५ हजारसहित सम्मानित हुनुभएको थियो ।

समारोहका प्रमुख अतिथि मन्त्री नेपाली, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा, नेपाल बार एशोसिएसन उच्च अदालत बार एकाइका अध्यक्ष गीता श्रीस, साहित्यकार काजी रोशन, पुरस्कृतका तर्फबाट पत्रकार मुकेशचन्द्र राजभण्डारीलगायतले भनाइ राखेका थिए ।